किराँती मोर्चा संमृद्दीको लागि किराँत पहिचानको पक्षमा


सुनसरी । प्रदेश १ लाई समृद्ध बनाउन किराँत पहिचानको आधारमा नाम रहनुपर्ने माग सहित नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सम्बद्ध किराँती राष्ट्रिय मुक्ति मोर्चाले पुन क्रियाशील हुने भएको छ ।

तत्कालीन माओवाद केन्द्र र एमाले एकता गरी नेकपा बनेपनी जातीय मोर्चाको एकता हुन बाँकी नै रहेको छ ।

नेकपा तीनै तहको सत्तामा रहेपनी पहिचानको आधारमा प्रदेशको नाम राख्न आनाकानीहुनुको साथै लोक सेवा आयोगले उत्पीडित समुदायको आरक्षण कटौती, आदिवासी समुदायको चाड पर्वमा दिइन्दै आएको सार्वजनिक बिदा कटौती भएपछि किराँती मोर्चाले आफ्नो गतिविधि बढाउने निर्णय गरेको हो ।

असोज ४ गते इटहरीमा प्रदेश १ को नाम किराँत प्रदेश बारे अन्तरक्रिया र ५ गते धरानमा केन्द्रीय बैठक गरी संमृद्दीको लागि प्रदेशको नाम किराँत राख्न क्रियाकलाप गर्ने निर्णय भएको मोर्चाको अध्यक्ष राजन किराँतीले बताए ।

प्रदेशको नामको लागि प्रदेश सभामा नेतृत्वमा रहेका संसदीय दलको नेता तथा सचेतकहरू, सभामुख, सभा सदस्य र सरकारको प्रतिनिधिहरूसँग भेटघाट, अन्तरक्रिया, किराँतमा साझा नामको लागि लिम्बू, धिमाल, राजवंधी, किराँत यक्थुङ चुम्लुङ, यायोक्खा, याक्खा छुम्मा, सुनुवार सेवा समाज लगायत सरोकार वाला सङ्घ, संस्थाका प्रतिनिधिहरूसँग छलफल परामर्श गर्ने निर्णय भएको बताइएको छ ।

बैठकले न्याय, स्वतन्त्रता, सम्मानताको साथै समानुपातिक, समावेशी राज्य व्यवस्था कायम र पूर्ण समानुपातिक निर्वाचन प्रणाली र काटिन्दै गएको अधिकार स्थापित गर्न शान्तिपूर्ण सङ्घर्ष जारी निर्णय भएको सङ्गठनको महासचिव अर्जुन किराँतीले बताए ।

पार्टीको केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासङ्घ नेपालको केन्द्रीय संयोजक सुरेश आले मगर, केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश सचिव सुरेशकुमार राई लगायतको उपस्थितमा भएको मोर्चाको बैठकले सङ्गठन सुदृढीकरण गर्दै किराँत राई लोकतान्त्रिक संघसँग एकता गर्ने लगायतको ७ बुँदे घोषणा पत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्