सङ्क्रमण दर बढ्दो : परीक्षणको २३ .६७ प्रतिशतमा देखियो कोरोना


३,१०८ नयाँ सङ्क्रमित, १,५९५ निको, २५ जनाको मृत्यु

काठमाडौँ, ५ श्रावण । आज कोरोना सङ्क्रमण दर एक्कासि माथि पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३१ सय बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् ।

यो सङ्ख्या अघिल्ला दिनको तुलनामा धेरै माथि रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १३ हजार १३५ जनाको परीक्षणबाट ३१ सय ८ सङ्क्रमित थपिएको जानकारी दिएको छ । परीक्षणको २३ दशमलव ६७ प्रतिशतमा सङ्क्रमण देखिएको हो । जसमा पीसीआरबाट मात्रै २२ सय २ जना थपिएका हुन् । काठमाडौँ उपत्यकामा सङ्क्रमित ह्वात्तै बढेका छन् । मङ्गलवार काठमाडौँमा ५३१, ललितपुरमा १४७ तथा भक्तपुरमा ४१ जना थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १,५९५ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार ६०७ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्