काठमाडौँ, ५ श्रावण । कक्षा १२ को परीक्षा आउँदो ३१ साउनदेखि सुरु हुने भएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको रूपमा लिइने कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्ने मङ्गलवार बसेको बोर्ड बैठकले निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षा साउनको अन्तिम दिन सुरु भएर भदौ ९ गते सकिने बताएका छन् । यसपालिको परीक्षा भने विद्यार्थीले आ–आफ्नै विद्यालयमा दिन पाउने छन् । बोर्डले विद्यार्थीले परीक्षा दिने विद्यालयलाई नै परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको छ । देशभरमा ४,३१० परीक्षा केन्द्र कायम भएका छन् । कक्षा १२ को परीक्षाको पर्खाइमा झण्डै पौने चार लाख विद्यार्थी छन् ।
गत जेठमा तय गरेको परीक्षा कोभिड– १९को सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो ।