काठमाडौँ, ४ श्रावण । नेकपा एमालेले देउवा सरकारलाई समर्थन नगर्ने, मतदान हुँदा त्यसको विपक्षमा बस्ने निर्णय गरे पनि पार्टीका २२ जना सांसदले भने पार्टीको ह्विपलाई बेवास्ता गर्दै देउवाको पक्षमा मतदान गरेका छन् ।
आइतवारको संसद् बैठकमा नेपाल पक्षका १४ र ओली पक्षका ८ जनासहित २२ जना सांसदहरूले देउवालाई विश्वासको मत दिए । देउवालाई संसद्को कुलमध्ये १६५ सांसदको सहमति रहेको थियो ।
उनको विपक्षमा भने ८३ जना सांसद उभिएका थिए । यस अघि नै देउवालाई विश्वासको मत दिने घोषणा गरेका नेपाल–खनाल पक्षका १४ जनाले विश्वासको मत दिए पनि सोही समूहका १० जना सांसदहरूले भने मतदान प्रक्रियामै भाग लिएनन् ।
नेपाल खनाल पक्षका मात्र नभएर ओली पक्षका भनेर चिनिने प्रेम आले, धनबहादुर बुढा, कृष्णकुमार (किसन) श्रेष्ठ, गोपाल बम, पार्वती विशंखे, हिराचन्द्र केसी, बिना बुढाथोकी र समिना हुसेनले देउवालाई विश्वासको मत दिएका थिए ।