सुन्दरहरैचामा दिउसै सुन लुट्ने प्रयास : लुटेराद्वारा एसएमजी र पेस्तोलको प्रयोग (पूर्ण भिडियो सहित)


सुन्दरहरैचा, ३ श्रावण । सुन्दरहरैचा नगरपालिकाको एक सुन पसलमा लुटेराहरूले अत्याधुनिक हतियार प्रयोग गरेर लुट्ने प्रयास गरेको छ । बिहीबार करिब दिउसो २ः४० बजे सुन्दरहरैचा १०, त्रिवेणीचौक स्थित शिव पाञ्चायन ज्वेलर्समा ३ जनाको एक अज्ञात समूहले एक एसएमजी र २ पेस्तोल प्रयोग गरेर लुट्ने प्रयास गरेको हो ।

पसलमा बसी रहेको बेला एकासी २ जना अज्ञात व्यक्तिहरू हतियार सहित आएको शिव पाञ्चायन ज्वेलर्सका प्रमुख खगेन्द्र थापा बताउँछन् । उनी भन्छन्, ‘पसलमा दुई जना हामी बुढा बुढी बसी रहेको बेला अज्ञात दुई जना व्यक्ति आयो, एक जनाको कम्मरमा पेस्तोल देखे । एक जनाले अर्कोलाई सटर जार भन्दै थियो । मिसेस् भग्ने कोसिस गर्दा एक जनाले पक्रेर भित्रै तान्न खोजो तर मैले मिसेस्लाई भाग भाग, चोर चोर भने पछि बाहिर भाग्न सफल भइन ।’


सुन राख्ने सिसा फुटाउने प्रयास गर्दै पेस्तोल ताकेर हल्ला गरिस् भने सुट गर्दिछु भन्दै धम्की दिएको थापा बताउँछन् । थापाका अनुसार, अर्कोले एसएमजी झोलाबाट निकालेर फिट गर्दै गर्दा बाहिर बसेको तेस्रो व्यक्तिले, हल्ला सुनेर भेला हुँदै गरेको स्थानीयलाई पेस्तोल ताक्दै तर्साउँदै, भित्र भएका लुटेराहरूलाई जाऊ जाऊ भन्दै, भाग्ने संकेत गरे पछि पेस्तोल ताक्दै तिनै जना फरार भएका हुन ।


लुटेराहरूले सुन राख्ने सिसा फुटाउने कोसिस गर्दा पनि नफुटेको कारण र बाहिरबाट उनको श्रीमती टिकादेवी थापाको गुहार थाहा पाएर गाउँले भेला हुन थाले पछि लुटेरा भागेको थापाले बताए । सो घटना लगतै प्रहरीलाई तत्काल उनले जानकारी गराएका थिए ।


थापा दम्पतीका अनुसार लुटेरा समूहमा चार जना थिए । दुई जना लुट्नलाई पसल प्रवेश गरेका थिए भने एक जना पसल बाहिर सुरक्षाको लागि पेस्तोलसहित बसेका थिए । अर्को एक जना भने बाइक रुँगेर घटना स्थल देखी केही पर बसेको थापा बताउँछन् । थापा दम्पतीका अनुसार लुटेराहरू योजनाबद्ध रूपमा लुट्न आए पनि सुन तथा गरगहना केही लुट्न पाएनन् ।

लुटेराहरूले कालो र रातो कलरको पल्सर बाइक प्रयोग गरेको थापाले जनाएका छन् । बाइकको नम्बर प्लेट छोपेर चलाएको थापाले बताए । सुरक्षित हुन पाउ भन्दै थापा परिवारले सरकार समक्ष आग्रह गरेका छन् । यस्तो घटना अरूलाई पनि घट्न सक्ने र एक व्यवसायी मात्र नभएर समाज नै असुरक्षित हुने हुँदा लुटेराहरूलाई चाडै पक्राउ गरेर कारबाही गर्न आग्रह पनि गरेका छन् ।


थापा दम्पतीका अनुसार नै पसलको सिसी क्यामरामा हेर्दा एक जना हरियो हाफ भेस्ट, मासी रङ्गको पेन्ट, मास्कले मुहार छोपेको, सेतो कपाल फुलेको र दोस्रो व्यक्तिले निलो पातलो ज्याकेट, कालो पेन्ट लगाएको, सेतो पन्जा लागाएको, मास्कले मुहार छोपेर हातमा झोला बोकेको देखिन्छ । पसल प्रवेश गर्ने बित्तिकै सटर तानेर पेस्तोल निकाल्छन् ।

दुई लुटेराहरू पसल प्रवेश गरेको बेला देवीमाया बाहिर हुन्छिन् तर सटर तानेर उनीलाई पनि भित्र तान्ने प्रयास गरेको सिसी क्यामरामा कैद भिडियोमा प्रस्ट देख्न सकिन्छ । त्यसै क्रममा अर्को एक व्यक्ति, भनौँ तेस्रो व्यक्ति हरियो हाफ भेस्ट, निलो जिन्स पेन्ट, कालो पन्जा लगाएको, कालो झोला बोकेको, हाफ कालो हेलमेट लगाएर बाहिर कम्मरमा पेस्तोलसहित सुरक्षाको लागि बसेको देखिन्छ ।


कपाल फुलेको व्यक्तिले खगेन्द्र तर्फ पेस्तोल ताकेर लुट्ने प्रयास गर्दै गरेको र निलो ज्याकेट लाउनेले झोला देखी एसएमजी निकाल्दै गरेको सिसी क्यामरामा प्रस्ट कैद छ । एसएमजी निकाल्न नपाउँदै बाहिर रहेको तेस्रो व्यक्तिले हातको इसाराले जाऊ भन्दै संकेत गर्छन् र तिनै जना हल्ला सुनेर भेला भएका स्थानीयहरूलाई हतियार देखाएर तर्साउँदै घटना स्थल देखी उत्तरमा रहेको पश्चिमको उपशाखा बाटो हुँदै भाग्न सफल हुन्छन् ।

सो घटना बारे थाहा पाए पछि शनिवार उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा थापाको घर पुगेका थिए । राज्यमन्त्रीले यस घटना प्रति प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताएका छन् । उनले भने, सुन्दरहरैचा शान्त नगर हो, यस घटनाले मलाई गम्भीर बनाएको छ । यस्तो घटना कहिले दोहोरिन नदिन नागरिकको सुरक्षामा प्रहरी प्रशासनलाई गम्भिरताका साथ अझै ध्यान केन्द्रित गराउने छौँ ।’
प्रहरीले यस घट्नालाई ठुलो थ्रेटको रुपमा लिएका छन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्धन जिसि भन्छन, ‘यो ठुलो थ्रेट हो । अपराधीलाई पक्राउ गर्न द्रुत्त गतिमा खोजी तथा अनुसन्धान भइरहेको छ ।’


अपराधीले प्रयोग गरेको एसएमजी सक्कली हो वा नक्की भन्ने विषय अनुसन्धानकै क्रममा रहेको उपरीक्षक जिसिले बताए । उपरीक्षक जिसिका अनुसार एसएमजीको प्रयोग विशेष गरी प्रहरीको स्पेसल टाक्स फोर्सले मात्र पाउछन । उपरीक्षक जिसि भन्छन, नेपालमा एसएमजीको प्रयोग प्रहरीको स्पेसल टाक्स फोर्स, नत्र विशेष गरी शसस्त्र र सेनाले मात्र प्रयोग गर्ने हतियार हो ।’


नेपालमा सर्वसाधरणले एसएमजी जस्तो हतियारको लाइसन्स पाउने कुनै कानुनी प्राबधान नै छैन । तर अपराधीहरुले प्रयोग गरेको हतियार सक्कली एसएमजी हो भने, कसरी प्राप्त गरे र ती अज्ञात समूह को हुन ? यो अनुसन्धानको पाटो रहेको छ । तर यस्तो प्रकृतिको घटना समाजमा घट्नु नागरिकले असुरक्षित महसुस गर्नु हो । नागरिकको सुरक्षाको जिम्मेवारी सरकारको हो । नागरिकको सुरक्षाको प्रत्याभूति प्रदान गर्न ३ नै तहको सरकार, स्थानीय, प्रदेश र संघ गम्भीर हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्