सङ्गठनको काममा खटिएका मानिसमाथि आक्रमण भएकोमा काँग्रेसद्वारा दुःख व्यक्त


काठमाडौँ, २ श्रावण । काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्यमा श्यामकुमार घिमिरेमाथि भएको आक्रमणको विषयलाई लिएर नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । साङ्गठनिक काममै खटिएका बेला कार्यस्थलमै गएर आफ्नै कार्यकर्ताबाट आक्रमण हुनुलाई नेपाली काँग्रेसले गलत कार्य भएको भन्दै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा व्यक्त गरेको छ । 

आक्रमणकारीहरू पनि काँग्रेसकै कार्यकर्ता रहेको बुझिएको छ भने घिमिरे नेपाली काँग्रेसका पार्टी केन्द्रीय सदस्य हुन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यसरी पार्टीकै काममा खटिएको बेलामा आफ्ना नेतामाथि आक्रमण गर्ने व्यक्ति काँग्रेसको अनुशासित कार्यकर्ता हुन नसक्ने बताएका छन् । 

उक्त घटनालाई पार्टी पदाधिकारीको शुक्रवार बसेको बैठकले गम्भीर रूपमा लिएको बताउँदै काँग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर साङ्गठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन । महाधिवेशन तयारीमा शुक्रवार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको छ ।’

प्रतिक्रिया दिनुहोस्