काठमाडौँ, २ श्रावण । जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम बाबुराम भट्टराईले कार्यपालिका र व्यवस्थापिकालाई ध्वस्त पारेपछि ओली अब न्यायपालिकामाथि खनिएको बताएका छन् । नेकपा एमालेको श्रावण १ गते बसेको स्थायी कमिटी बैठकमा अदालतको निर्णयविरुद्ध देशव्यापी रूपमा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत भट्टराईले एमाले न्यायपालिका ध्वस्त पार्ने अभियानमा जुटेको आरोप लगाउँदै भनेका छन् ‘खड्गप्रसाद एण्ड कम्पनीलाई कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ !’
नेकपा एमालेको यो पछिल्लो निर्णयले निर्दलीयताको वकालत गरिरहेका कमल थापाजस्ता राजवादीहरूलाई सहयोग पुगिरहेको बताएका छन् । ‘जो चोर उसको ठूलो स्वर भनेझैँ संविधानसभाले विशेष व्यवस्था गरेको धारा ७६ (५) ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ, त्यसो भए कमल थापाहरू खुसी हुनुपर्ने हैन र ?’