काठमाडौँ, १ श्रावण । चीनले नेपाल सरकारलाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । आज नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा उक्त प्रतिबद्धता जनाएकी हुन् ।
प्रधानमन्त्री देउवाले राजदुत होउलाई चीन सरकारद्वारा नेपाललाई कोरोनाविरुद्धको खोपलगायत आवश्यक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो सहयोगको निरन्तरताको आसा राखेका थिए । चीनबाट नेपालले अनुदान र खरिद गरेर यसअघि नै कोरोनाविरुद्धको ५८ लाख डोज खोप ल्याइसकेको छ ।
अमेरिकाले १५ लाख खोप दिने प्रतिबद्धता जनाएसँगै चिनले पनि नेपाललाई थप सहयोग गर्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको थियो ।