बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानमा सरकारले देखायो अग्रसरता


समस्या समाधान गर्न ८ सदस्सीय कार्यदल गठन

धरान, १ श्रावण । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समयदेखि जारी समस्या समाधान गर्न सरकारले अग्रसरता देखाएको छ । प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव वैकुण्ठ अर्याल संयोजक रहेको ८ सदस्सीय कार्यदल गठन गरेर उक्त समस्याको समाधान गर्न अग्रसरता देखाएको हो ।

आजैदेखि आफ्नो काम सुरु गरेको कार्यदलले १५ दिनभित्रमा सरकारलाई प्रतिवेदन बुझाउने प्रधानमन्त्री कार्यालयका सहसचिव एवम् कार्यदलका सदस्यसचिव शङ्कर नेपालले जानकारी दिएका छन् । कार्यदलले आजैबाट आफ्नो काम थाले पछि प्रतिष्ठान सुधारको माग गर्दै लामो समय देखि प्रतिष्ठानमा कार्यरत चिकित्सक  नर्स र  विद्यार्थीको जारी आन्दोलन साम्य हुने आसा गरिएको छ । 

उक्त कार्यदलमा स्वास्थ्य  मन्त्रालय, कानुन मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महालेखा   नियन्त्रकको कार्यालय, सार्वजनिक खरिद अनुगमन र बिपी प्रतिष्ठानका प्रतिनिधि रहेका छन् । कार्यदल गठन भएर आजैबाट काम सुरु गर्ने भनिए पनि आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले भने औपचारिक रूपमा जानकारी नआएको बताएको छ । 

प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले मदिरा पिएर बैठकमा आएको भन्दै सुरु वार्तासमेत भाँडिए पछि उनले पटक पटक वार्ताको आह्वान गरे पनि आन्दोलनकारीले उच्चस्तरीय समितिसँग मात्रै वार्ता गर्ने भन्दै उनीसँग वार्ता गर्न अस्वीकार गर्दै आएका थिए ।   

प्रतिक्रिया दिनुहोस्