काठमाडौँ, ३१ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बिहीबार दिउँसो दुई बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारी लाईसमेत बैठकमा बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बिहिवारको बैठकमा १४ औँ महाधिवेशनको तयारी, मन्त्रिमण्डल गठनका बारेमा छलफल हुने बताइएको छ । मङ्गलवार मात्र प्रधानमन्त्रीको रूपमा नियुक्त भएका देउवाले आजको बैठकमा काङ्ग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री चयनका बारेमासमेत छलफल गर्ने बताइएको छ ।
सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेर राष्ट्रपतिको नाममा परमादेश जारी भए पछि प्रधानमन्त्री नियुक्त भएका देउवाले पहिलो चरणमा काँग्रेस र माओवादीबाट दुई दुई जना गरेर चार जना मात्र मन्त्री नियुक्त गरेका छन् ।