चैतसम्ममा सबै नेपालीलाई खोप पुर्‍याउने देउवा सरकारको निर्णय


काठमाडौं, ३० असार । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो क्याबिनेट बैठकले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी असोज मसान्तभित्र एक तिहाइ र आगामी चैत मसान्तभित्र १८ वर्ष माथिका सबैलाई खोप लगाइने निर्णय गरेको जानकारी दिएका छन् । 

सरकारले महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतले पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । साथै बैठकले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको सम्पूर्ण खर्च सार्वजनिक गर्नेसमेत निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिएका छन् । 

मङ्गलवारमा पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री देउवाले काँग्रेस र माओवादी केन्द्रबाट दुई दुई गरेर चार जना मन्त्री नियुक्त गरेका छन् । गृहमा बालकृष्ण खाँण, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की  नियुक्त भएका छन्  भने जनार्दन शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्रीमा नियुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस्