बिर्तामोडमा मृत अवस्थामा भेटिएकी सिर्जनाको हत्या भएको आशङ्का


झापा, २९ असार ।  झापाको विर्तामोडमा मृत अवस्थामा फेला परेकी सिर्जना बस्नेतको हत्या भएको आशङ्का गरिएको छ । इलाम स्थायी घर भई परिवारसँगै सानीमाको घरमा डेरा बस्दै आएकी २६ वर्षीय सिर्जनाको सोमबार बिहान आफ्नै डेरा अगाडि अर्धनग्न अवस्थामा शव फेला परेको थियो । घरका सबै गेट भित्रैबाट लक गरिएको अवस्थामा सिर्जनाको शव घर बाहिर फेला पर्नुले पनि उनको हत्या भएको आशङ्का गरिएको हो ।

आइतबार बेलुका करिब आठ बजेसम्म घरमा भएकी सिर्जना सोमबार बिहान घर अगाडि मृत अवस्थामा फेला परेकी उनका दाजु रमेश बस्नेतले बताए । शवको पछाडिको भाग तथा टाउकोमा चोट र घटनास्थलमा रगतको दाग देखिनुले पनि हत्या भएको हुनसक्ने आशङ्का उब्जाएको छ ।

धरानबाट ‘ट्रयाकर डग’ झिकाएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।जिल्ला प्रहरी प्रवक्ता थापाका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टरको समूहले घटनास्थलमा शवको बाहिरी परीक्षण गरेको पोस्टमार्टमका लागि शव धरान पठाइएको छ । 

प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । तर हालसम्म प्रहरीले कसैलाई पक्राउ गरेको भने छैन ।  

प्रतिक्रिया दिनुहोस्