देउवा आज पाँचौँ पटक प्रधानमन्त्री बन्दै : आजै सानो आकारको मन्त्रीमण्डल गठन हुने


काठमाडौँ, २९ असार । देउवा आज पाँचौँ पटक प्रधानमन्त्री बन्दै छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेर २४ घण्टामा देउवालाई प्रधानमन्त्री घोषणा गर्न परमादेश जारी गरेपछि आज उनी पाँचौँ पटक प्रधानमन्त्रीको रूपमा नियुक्त हुन लागेका हुन् । 

देउवाले आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको सुरुमा माओवादी केन्द्र र जसपालाई मिलाएर सानो तथा छरितो मन्त्रीमण्डल गठन गर्ने तयारीमा रहेको नेपाली काँग्रेसमा नेता बालकृष्ण खाँडले जानकारी दिएका छन् । 

देउवालाई माखोवादी केन्द्र र जसपाका यादव समूहको साथ रहने छ । एमालेको नेपाल –खनाल पक्षले भने गठबन्धनबाट नअलग्गिए पनि सरकारमा भने सामेल नहुने यसअघि नै सङ्केत दिइसकेको छ । सरकार गठनमा नेपाल–खनाल पक्षको सहयोग पाएका देउवालाई एक महिना पछि विश्वासको मत लिने समयमा भने एमालेले १० बुँदे सहमति बाधक बन्ने सम्भावना देखिएको छ । 

सर्वोच्चको पछिल्लो फैसलासँगै देउवालाई प्रधानमन्त्रीको रूपमा नियुक्त हुने बाटो खुले पनि एमालेमा भएको पछिल्लो १० बुँदे सहमतिले देउवालाई विश्वासको मत लिने पक्रियामा भने फलामको चिउरा चपाउनुसरह हुने देखिने प्रस्ट छ ।

प्रतिक्रिया दिनुहोस्