काठमाडौँ, २८ असार । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् ।पूर्वमन्त्रीसमेत रहेका नेता थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटन गर्ने कार्यलाई सर्वोच्चले असंवैधानिक ठहर गरेको बताउँदै यस कार्यले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका हुन् ।
नेता थापाले अदालतको फैसलासँग असहमत हुन सकिने तर असहमत हुँदाहुँदै पनि त्यसलाई मान्न भने सबै बाध्य हुने बताएका छन् । सर्वोच्च अदालतको फैसलाको विरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले राजधानीमा प्रदर्शन गरेका छन् ।
नेकपा एमाले ओलीनिकट युवा सङ्घले माइतीघर मण्डलामा प्रदर्शन गर्दै सबै फैसला मानिँदैन, सर्वोच्च अदालत मुर्दावाद, केपी ओली हाइ हाइ भन्ने नारासमेत लगाएका थिए । उनीहरूले राष्ट्रपतीलाई सर्वोच्चको निर्णय कार्यान्वयन नगर्न सचेतसमेत गराएका छन् ।