२४ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौँ, २८ असार । सर्वोच्च अदालतले २४ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । आज बसेको संवैधानिक इजलासले काँग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले करिब एक महिनाको सुनुवाइपछि प्रधानमन्त्रीको सिफारिसमा जेठ ७ मा मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको निर्णय गलत भएको फैसला सुनाएको हो ।

राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध जेठ ११ गतेदेखि सुरु गरेको सुनुवाइ ३९ दिनसम्म चलेको थियो । लामो समयको बहस पछि सर्वोच्चले यस्तो फैसला सुनाएको हो ।

सर्वोच्चको पछिल्लो फैसलासँगै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालय बाध्य भए पनि एमालेमा भएको पछिल्लो सहमतिले भने देउवालाई विश्वासको मत लिन भने फलामको चिउरा चपाउनुसरह हुने जानकारहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्