१,५३५ ले कोरोना जित्दा १,८३१ नयाँ सङ्क्रमित थपिए


काठमाडौँ, २७ असार । नेपालमा पछिल्लो २४ घण्टामा १,५३५ ले कोरोना जित्दा १,८३१ नयाँ सङ्क्रमित थपिएका छन् । नेपालमा हालसम्म ६ लाख ५५ हजार ४४९ जना सङ्क्रमित पुष्टि भएका छन् भने तीमध्ये ६ लाख १९ हजार ८९४ जना सङ्क्रमित निको भइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १,८३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको ९,२१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,८३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५,५३५ जना पिअिसार परीक्षण गर्दा १,२३७ र ३,६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ५९४ जनामा सङ्क्रमण पुष्टि भएको छ। नेपालमा सङ्क्रमित पत्ता लाग्ने दर २२.३ प्रतिशत छ । अर्थात नेपालमा ५ जनाको परीक्षण गर्दा एक जना सङ्क्रमित पुष्टि भइरहेका छन् । पछिल्लो २० घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ३८२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

कोरोना सङ्क्रमण दैनिक रूपमा बढ्दो क्रममा रहेको देखिन्छ । एक सातादेखि निरन्तर रूपमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको तथ्याङ्कले देखाउँछ ।

निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना सङ्क्रमण दर बढेको, र यो अब अझ बढेर भयावह अवस्था पुग्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य विज्ञले बताउँदै आएका छन् । त्यसो सरकारले स्वास्थ्य मापदण्डको पालना गर्दै दैनिक जनजीवनलाई सहज बनाउने भनेर निषेधाज्ञा खुकुलो पारे पनि बजार तथा व्यवसायहरू मापदण्डविनै निर्बाध रूपमा चलिरहेका देखिन्छन् । केही स्थानका बजारलाई हेर्ने हो भने त देशमा कोरोनाको कुनै त्रास नै नरहेको जस्तो भान हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्