प्रचण्ड नेतृत्वको ‘माओवादी केन्द्र’ वैधानिक भएको निर्वाचन आयोगको निर्णय


काठमाडौँ, २७ असार । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको नेकपा (माओवादी केन्द्र) अवैधानिक रहेको भन्दै दर्ता भएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ । 

असार २३ गते अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्र अवैधानिक रूपमा चलेको भन्दै दर्ता खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यस्तै माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी र प्रभु सले शुक्रवार आयोगको कार्यालयमै पुगेर चाँडो निर्णय लिन आग्रहसमेत गरेका थिए । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरू सगुनसमशेर जबरा, जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले आज प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको निर्णय गर्दै त्यसविरुद्ध परेका निवेदन खारेज गरिदिएको छ । 

आयोगले माओवादी केन्द्रको लेटरप्याड प्रयोग गर्दै निवेदन दिने भविसोर पराजुलीलाई अन्य दलको लेटरप्याडको दुरुपयोग गरेकोमा सचेत गराउने निर्णयसमेत गरेको छ । 

माओवादी केन्द्रले शुक्रवार नै विज्ञप्ति निकालेर पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानुनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद रहेको बताउँदै उक्त कार्यलाई पार्टीलाई बदनाम गर्ने लोभी पापीहरूको षडयन्त्र रहेको प्रतिक्रिया दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्