बेलबारीको लक्ष्मीमार्गमा यसअघि लगाइएको सिललाई एकसाताका लागि थप्ने निर्णय


बेलबारी, २६ असार । बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा यसअघि लगाइएको सिललाई एक साताका लागि लम्ब्याउने निर्णय भएको छ । कोरोनाको उच्च जोखिम देखिए पछि असार २० गते आइतबार राति १२ बजेदेखि उक्त क्षेत्रमा सिल लगाइएको थियो ।

शनिवार बसेको सर्वदलीय बैठकले अझै पनि कोरोना सङ्क्रमणको दर कम नभएको  भन्दै साउन ३ गतेका सम्मका लागि सिलको अवधि थप्ने निर्णय गरिएको हो । तर थपिएको अवधिमा सुरक्षा गस्ती र स्वास्थ्य एमर्जेन्सिलाई मध्यनजर गरी मुख्य प्रवेशद्वार र शाखा प्रवेशद्वारमा लगाइएका ढाट पूर्णरुपमा हटाउने निर्णयसमेत गरेको बेलबारी नगरपालिका ११ नं वार्डका अध्यक्ष यमप्रसाद पोखरेल (राजन)ले जानकारी दिएका छन् ।

वडाध्यक्ष पोखरेलका अनुसार थपिएको अवधिमा एम्बुलेन्स, कूटनीतिक नियोगका गाडी, दूधजन्य सामाग्री, मेडिकल, सञ्चार, तथा आवश्यक बाहेकका अरू सवारी साधनलाई प्रवेश निषेध गरिएको छ । साथै सिलको अवधिमा घरबाट बाहिर निस्कन निरुत्साहित गर्ने र अत्यावश्यक काममासमेत घरबाट बाहिर निस्कँदा स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोगमा थप कडाइ गर्नेसमेत निर्णय भएको छ । 

एक सय ५० को हाराहारीमा सक्रिय सङ्क्रमित रहेको यस वार्डमा कोरोनाबाट ४ जनाले ज्यान गुमाइसकेको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्