कालो टोपी देखाएर सांसद रायमाझीले गरे नयाँ शैलीको विरोधको सुरुवात


काठमाडौँ, २२ असार । नेपालको राजनीतिमा विरोधको नयाँ तरिकाको सुरु भएको छ । सोमवारको राष्ट्रियसभा बैठकमा सांसद रमेशजंग रायमाझीले प्रतिनिधि सभाको विघटनको विरुद्धमा कालो टोपी देखाएर विरोधको नयाँ शैली सुरु गरेका हुन् ।                 

राष्ट्रियसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्ध संसद्मा कालोझण्डा ल्याउन सम्भव नभएकाले कालो टोपी देखाएर विरोध गरेको बताए ।

बैठकमा नेता रायमाझीले भने, ‘आजसम्म यो सदनमा म यो रूपमा प्रस्तुत भएको थिइनँ । आज अर्कै रूपमा उपस्थिति भएको छु । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरिसकेपछि लाखौँ जनता सडकमा कालो झण्डा बोकेर निस्कनुपर्ने बेला थियो ।’

कोरोनाको सङ्क्रमणका कारण सडकमा कालो झण्डा देखाउने अवस्था नभएकोले आफूले प्रतिकात्मक रूपमा यो सरकारको प्रतिनिधिसभा विघटनको विरुद्धमा यो आवाज उठाइरहेको बताएका छन् ।

मोरङबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद रायमाझीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नैतिकता गुमाइसकेको आरोप लगाउँदै ओली सरकार सबै दृष्टिकोणबाट असफल भइसकेकाले आरोप लाए । नेता रायमाझीले नेपालको चुच्चे नक्साको प्रसङ्ग झिक्दै वर्तमान ओली सरकारले संविधानको रक्षा गर्न नसकेको, कुरा एक थोक गर्ने तर काम भने अर्कैथोक गर्ने गरेकोसमेत आरोप लाएका थिए । 

विरोधका नाममा चक्काजाम गर्ने, टायर बाल्ने प्रवृत्ति हाबी भइरहेको परिप्रेक्षमा गरिएको नयाँ शैलीको विरोधलाई विशेष महत्वकासाथ हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्