महासचिव चन्दलाई सङ्घको बधाई तथा शुभकामना


काठमाडौँ, २२ असार । नेपाल भलिबल सङ्घले महासचिव जितेन्द्र बहादुर चन्द एसियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चयन हुन सफल भएकोमा सोमबार एक कार्यक्रमकाविच बधाई तथा शुभकामना प्रदान गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा सङ्घका कार्यवाहक अध्यक्ष श्री यामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सङ्घका सदस्यहरू, प्रमुख प्रशिक्षक, प्रशिक्षकहरू तथा एसियन महिला भलिबल च्याम्पियनसिपका तयारीमा रहेका खेलाडी लगायतको उपस्थिति रहेको थियो ।

महासचिव चन्दलाई कार्यवाहक अध्यक्ष तथा पदाधिकारीहरूले बधाई तथा शुभकामना दिँदै कार्यकालको सफलताको कामना सहित नेपाल जस्तो विकासोन्मुख राष्ट्रले एसियन सेन्ट्रल जोनको पदाधिकारी जस्तो गरिमामय पदमा नियुक्त हुनु नेपाल तथा भलिबल सङ्घको नै गौरवको विषय भन्दै यसको नेपाल भलिबल सङ्घले सक्दो सदुपयोग गर्नु पर्नेमा जोड दिए ।

महासचिव चन्दले सेन्ट्रल जोनको कोषाध्यक्षमा नियुक्त हुनु विगतमा नेपालले भलिबल खेलको विकासमा गरेको कार्यहरूको मूल्याङ्कनको प्रतिफल भएको भन्दै आगामी दिनमा अझ बढी चुनौती थपिएको र सङ्घले भलिबल खेलको विकास र विस्तारमा अझ बढी कार्य गर्नु पर्ने बताए ।एसियन भलिबल महासङ्घले आफ्ना आबद्ध राष्ट्रहरूलाई ५ क्षेत्रमा विभाजन गरेर भलिबल खेलको विकासलाई अगाडी बढाई रहेको छ । अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरू एसियन सेन्ट्रल जोन क्षेत्र अन्तरगत पर्दछन् । जसमा नेपाल सहित १४ राष्ट्र सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्