काठमाडौँ, २१ असार । विश्वासको मत नपाएका व्यक्ति पुन : प्रधानमन्त्रीमा नियुक्त हुन नसक्ने एमिकस क्युरीले राय दिएका छन् ।
सोमबार संवैधानिक अदालतमा जारी बहसमा आफ्नो राय दिने क्रममा उनीहरूले यस्तो राय दिएका हुन् ।
एमिकस क्युरीका वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले बहस गर्दै संसदमा एक पटक विश्वासको मत नपाएपछि प्रधानमन्त्री स्वतः पदमुक्त हुने राय दिएका छन् । वैद्यले संविधानको धारा ७६ (२) को प्रधानमन्त्री रूपमा विश्वासको मत नपाएका व्यक्तिलाई राष्ट्रपतिले ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने तर्क अघि सार्दै राष्ट्रपतिको कदम गलत रहेको तर्क पेस गरेका छन् ।
बहसका क्रममा बैद्य संसद्ले सरकार सञ्चालन गर्न अयोग्य भनिसकेपछि केपी ओलीको हैसियत चिनाउनु पर्नेमा त्यसो नगरी राष्ट्रपतिले नयाँ अवतार ठानेर पुनः प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नु गलत भएको बताएका छन् ।
एमिकस क्युरीका अर्का वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरेले संसदबाट विश्वास गुमाएको व्यक्ति एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्न नमिल्ने बताएका छन् । उनले संवैधानिक इजलासलाई राय दिँदै विश्वासको मत लिन नसकेका व्यक्तिले फेरि ७६ (५) मा प्रधानमन्त्रीको रुपमा दाबी गर्न नमिल्ने पनि जिकिर गरेका थिए ।
तर एमिकस क्युरीकै तर्फबाट अधिवक्ता उषा मल्ल पाठकले भने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार रहेको जिकिर गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट खारेज हुनुपर्दछ भन्ने विचार व्यक्त गरेकी छिन् ।
एमिकस क्युरीको रायसँग बहस सकिएसँगै संविधान विघटन सम्बन्धी मुद्दाको बहस सकिएको छ । यसको फैसला भने असार २८ गते हुने अनुमान गरिएको छ ।