प्रहरीलाई सहुलियतपूर्ण ऋण सुविधा : कल्याण कोषमा रु १५ करोड विनियोजन


काठमाडौँ, ५ असोज । सहुलियतपूर्ण ऋण सुविधाको लागि प्रहरी कल्याण कोषमा रु १५ करोड विनियोजन भएको छ ।

प्रहरीको कल्याण कोष सञ्चालक समितिको निर्णयअनुसार प्रहरी कर्मचारीको लागी उक्त ऋण सुविधा आइतबारदेखि नै लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वरिष्ठ प्रहरी अधिकृत र कनिष्ठ प्रहरी अधिकृतका लागि हलुका सवारी र सकल दर्जाका प्रहरी कर्मचारीका लागि मोटरसाइकल स्कुटर, ल्यापटप, टेलिभिजन, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन किस्ताबन्दीमा समेत खरिद गर्नका लागि सहुलियत ऋण उपलब्ध हुने प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए ।

कल्याण कोष कार्यविधि २०७१ को अनुसूची १० अनुसारको निवेदन दिए पछि प्रहरीले किस्ताबन्दीमा ऋण लिन पाउने छ । हलुका सवारी साधनका लागि ६ प्रतिशत व्याजदारमा रु १५ लाखसम्म १० वर्षका लागि ऋण लिन सकिनेछ । मोटरसाइकलका लागि भने सोही व्याजदारमा चार वर्षका लागि रु दुई लाख, ल्यापटप र टिभीलगायतमा रु ५० हजार र फ्रिज माइक्रोओभनमा रु २५ हजार ऋण लिन सकिने प्रहरीले जनाएको छ ।

काररजीप लिने प्रहरी अधिकृतको हकमा सात वर्ष नोकरी गरेको र कनिष्ठ प्रहरी अधिकृतका हकमा सात वर्ष, प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म पाँच वर्ष र सोभन्दा माथिका लागि तीन वर्ष नोकरी अवधि बाँकी भएको हुनुपर्नेछ । अन्यको हकमा भने पाँच वर्ष नोकरी अवधि भएको हुनुपर्ने जनाइएको छ । चाडबाड सुरु भएकाले त्यस्ता सामग्री खरिद गर्न चाहने प्रहरी कर्मचारीका लागि यो सहुलियत ऋण सुविधा उपलब्ध गराइएको नेपाल प्रहरीका सह प्रवक्ता उमेशराज जोशीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्