काठमाडौँ, २० असार । सरकारले उपत्यकामा लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ । लकडाउन खुकुलो बनाएसँगै काठमाडौँ उपत्यकामा सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली पनि हटाइने भएको हो ।उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस अघि लागु गरेको जोरबिजोर प्रणाली खारेज गरेको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार २२ गतेदेखि थपिएको निषेधाज्ञामा यसअघि लगाइएका धेरै प्रावधानलाई हटाएको छ । जोर–बिजोर प्रणाली हटेसँगै अब सबै सवारी साधन चल्न पाउने छन् । तर प्रहरी प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भने कडाइ गर्ने भएको छ ।
गाडी चले पनि सभा–सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, स्विमिङ पुल, खेल स्थललगायतका बढी भिड हुने क्षेत्रमा लगाएको रोक भने कायमै रहेको छ । साथै उपत्यका प्रशासनले सभा जुलुस र जात्रा महोत्सव, धार्मिक गतिविधि लगायतका मानिस भिडहुने कार्य गर्नमा लगाएको रोक पनि कायमै रहेको बताएको छ ।
कोरोना सङ्क्रमण दर घटेसँगै सरकारले निषेधाज्ञालाई देशैभर खुकुलो बनाउँदै गएको छ । हवाई उडानमा लाएको रोक यसअघि नै हटाइसकेको छ ।