रुपा सुनारद्वारा मन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दायर


काठमाडौँ, २० असार । जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै रुपा सुनारद्वारा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

जातीय कारणले घर भाडा दिन अस्वीकार गरेको उजुरीका आधारमा पक्राउ गरेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन आफै प्रहरी वृत्तमा पुगेका शिक्षामन्त्री श्रेष्ठविरुद्ध सञ्चारकर्मीसमेत रहेकी रुपाले सर्वोच्चमा रिट दायर गरेकी हुन् । 

रिटमा मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले वर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको भन्दै रिटमा उनलाई पदबाट हटाउन माग गरिएको हो ।

यस विषयलाई लिएर शिक्षा मन्त्री श्रेष्ठको सर्वत्र आलोचना भइरहेको छ । पार्टीकै बैठकमासमेत मन्त्री श्रेष्ठले ठूलो गल्ती गरेकोभन्दै उनको राजीनामासमेत मागिएको थियो । 

प्रतिक्रिया दिनुहोस्