बेलबारी, २० असार । शान्ति युवा समूहले, बेलबारीका ६ वडाहरूलाई अक्सिजन उत्पादन गर्ने मेसिन अक्सिजन कन्सन्ट्रेटरसहित अक्सिमिटर, पिपिई लगायत स्वास्थ्य सामाग्री वितरण गरेको छ । शान्ति युवा समूह, बेलबारी ९ ले शनिवार स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरी ६ वडाहरूलाई वितरण गरेको हो ।
क्लबका अध्यक्ष अजित धिमालका अनुसार अक्सिजन कन्सन्ट्रेटर ७ वटा वडालाई वितरण गर्ने लक्ष्य रहेको छ । शनिवार वडा नं. २, ३, ४, ७, ९ र ११ लाई अक्सिजन कन्सन्ट्रेटरसहित अक्सिमिटर, पिपिई, मास्क, सेनिटाईजर लगायत स्वास्थ्य सामाग्री वितरण भइसकेको छ भने वडा नं. १ बाट प्रतिनिधि नआएको कारण वितरण गर्न बाकी रहेको अध्यक्ष धिमालले जनाएको छ ।
अध्यक्ष धिमालका अनुसार करिब २६ लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री बेलबारीका वडा कार्यालयलाई वितरण गरिएको हो भने वडा कार्यालय मार्फत आधारभूत स्वास्थ्य चौकी तथा स्वास्थ्य चौकीहरूलाई वितरण हुने छ । क्लबका संरक्षक प्रकाश राईको पहलमा उक्त स्वास्थ्य सामाग्री उपलब्ध भएको धिमालले बताएका छन् । स्थानीय ज्येष्ठ नागरिकहरूलाई ८० थान झुल समेत वितरण गरियो छ । क्लबले डागिहाड प्रहरी चौकीलाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले क्लबको कार्यको प्रशंसा गर्दै प्रकाश राई लाई धन्यवाद व्यक्त गरे । कोरोना महामारीमा वर्तमान सरकारले निर्वाह गरेको भूमिकाबारे बताउँदै, चाडै चाइना देखी संघिय सरकारले तत्काल ४० लाख खोप ल्याउन लागेको समेत जानकारी दिएका छन् । यस आर्थिक वर्ष भित्र मात्र, संघ तथा प्रदेश सरकारबाट ४९ करोड भन्दा बढीको विकास कार्य योजना बेलबारी वडा नं.९, १० र ११ मा विनियोजन भएको राज्यमन्त्री ओझाले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीले क्लबको साथै प्रकाश राईलाई धन्यवाद व्यक्त गर्दै स्वास्थ्य सामाग्री प्राप्त गर्ने वडा तथा स्वास्थ्य चौकीहरूलाई पूर्ण सदुपयोग गर्नुको साथै संरक्षणमा पनि ध्यान दिन आग्रह गरेकी छिन । यस विषम परिस्थितिमा देशमा नै स्वास्थ्य सामाग्रीको अभाव भइरहेको बेलामा, बेलबारी नगरपालिकाले लाखौँ मूल्यको स्वास्थ्य सामाग्री प्राप्त गर्नु धेरै उपलब्धिमूलक रहेको पराजुलीले बताइन ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बेलबारी नगर इन्चार्ज इरान राईले प्रशंसा गर्दै क्लब तथा प्रकाश राईको कार्यलाई समर्थन साथै प्रचार गर्न आग्रह गरेका छन् । क्लब तथा प्रकाश राईद्वारा भएको कार्यको प्रचारले अरूलाई पनि प्रोत्साहित गर्ने भएकोले सकारात्मक प्रचार आवश्यक रहेको राईले बताए । वडाहरूको प्रतिनिधित्व गर्दै कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष नगेन्द्र खड्काले क्लबलाई धन्यवाद व्यक्त गरे ।
कोरोनाको कहर भयबह भइरहेको बेला, संक्रमितहरुले अक्सिजनको अभावमा अकालमा ज्यान गुमाइरहेको बेला, प्रकाश राईको पहलमा उपलब्ध भएको स्वास्थ्य सामाग्रीले वडाका जनताको स्वास्थ्य सुरक्षामा नै ठुलो सहयोग पुग्ने बताएका छन् । भावी दिनमा पनि प्रकाश राई साथै क्लबसँग यस्तै कार्यको आशा रहेको अध्यक्ष खड्काले बताए ।
बोधिसत्वा विहार, काठमाडौँ र चु जी फाउन्डेसन, ताइवानको सहयोगमा उक्त स्वास्थ्य सामाग्री सहयोग भएको प्रकाश राईले जनाएका छन् । अक्सिजनको अभावमा र सिलिन्डर बोकेर हिँड्दा हिँड्दै कोही पनि बेलबारीका नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर, धेरै नै जोड गरेर अक्सिजन कन्सन्ट्रेटरसहित, अक्सिमिटर, पिपिई लगायत स्वास्थ्य सामाग्री ल्याउन सफल भएको राई बताए ।
पहिलो कोरोना भेरियन्टको महामारीमा मास्कको अभाव हामी सबैले बेहोरेको हौ । दोस्रो भेरिअन्ट सम्म आइपुग्दा सचेतना वृद्धि सँगै अहिले गोजीमा पैसा भए पनि नभए पनि मास्क खरिद गरेर लगाउन जो कोहीको लागि अनिवार्य छ ।
यस्तो विषम परिस्थितिमा सर्वसाधारणलाई दैनिक मास्क खरिद गरेर लगाउन, आर्थिक रूपमा सबैलाई सहज छ भने पक्कै छैन ।अक्सिजनको अभावमा बिरामीहरूले ज्यान गुमाउन परिरहेको प्रत्यक्ष दर्सी तपाई हामी नै छौ । तसर्थ यस बेला लाखौँको अक्सिजन कन्सन्ट्रेटर सहितको अन्य स्वास्थ्य सामाग्री प्रकाश राईको पहलमा बेलबारी नगरपालिका तथा नगरवासीले सहयोग प्राप्त गर्नुले ठुलै महत्त्व राख्द छ ।