देशैभर अविरल वर्षा : नदी तटका आसपासका वासिन्दालाई सतर्कता अपनाउन आग्रह


काठमाडौँ, १७ असार । केही दिनदेखिको अविरल वर्षाले देशका विभिन्न स्थानका ठुलो प्रभाव पारेको छ । मौसम पूर्वानुमान शाखाले तीन दिनसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेका बताएको छ ।बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको सूचनाअनुसार कोशी, नारायणीका सहायक नदी तथा पूर्वी राप्ती र कनकाईलगायतमा बहाव बढ्ने सम्भावना छ । यीमध्ये केही नदीको जल सतह बढ्ने सम्भावना बढी रहेको छ । 

निरन्तर रूपमा वर्षा भइरहँदा केही दिनअघिको वर्षाबाट ठुलो क्षति बेहोरेको सिन्धुपाल्चोक आसपासका जनता स्थानीयवासी झन् त्रसित भएका छन् । सिन्धुपाल्चोकका शेर्माथाङ, धाप र चौतामा भारी वर्षाको मापन भएसँगै उक्त क्षेत्रका बासिन्दाहरूलाई थप सचेत रहन आग्रह गरिएको छ । मेलम्ची बजारलगायत तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।आज बिहान सिन्धुलीस्थित कमला नदीको रानी बास बाढी मापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको छ ।

सिन्धुलीकै मरिनखोला कुसुन्तार वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । मरिन कुसुन्तार, वाग्मती राइगाउँ, पधेरादोभानलगायत बाढी मापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको जनाइएको छ । उक्त जलाधारका नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा आज दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

साथै प्रदेश १ र प्रदेश २ मा रहेका अधिकांक्ष जिल्लामा दिनभर  भारी वर्षाको अनुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्