कानेपोखरी, १५ असार । मोरङको कानेपोखरी गाउँपालिकाको आर्थिक वर्ष २०७८-०७९ को बजेट, नीति तथा कार्यक्रमले कृषि तथा पूर्वाधारलाई विशेष जोड दिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नामद्वारा गाउँसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८-०७९ बजेट, नीति तथा कार्यक्रममा कृषि तथा पूर्वाधार विकासमा विशेष जोड दिइएको छ । वडा नं. ६ मा रहेको रमाइलो साकोसको सभाहलमा सम्पन्न नवौँ गाउँसभामा आगामी आर्थिक वर्षको लागि ७६ करोड ९६ लाख ३० हजार ३ सय ४१ रुपैयाँ बराबरको बजेट प्रस्तुत भएको छ ।
पूर्वाधारलाई प्रमुख प्राथमिकतामा राखेको गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, उद्योग, उर्जा, पर्यटनलाई लगायतका क्षेत्रलाईसमेत प्राथमिकतामा पारेर बजेट, नीति तथा कार्यक्रम आएको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले जनाएका छन् ।
यस पटक जनता आवास कार्यक्रम तथा एकीकृत नमुना बस्ती निर्माणका कार्यक्रमले प्रमुख स्थान पाएका छन् । लामो समयदेखि सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्यासँग जुध्दै आएको गाउँपालिकाले जनता आवास तथा नमुना बस्तीको निर्माण कार्यक्रममार्फत यो समस्यालाई हल गर्ने लक्ष लिएको छ । पूर्वाधारतर्फका योजनाहरूमा मुख्यमन्त्री ग्रामीण सडक, कालोपत्रे, कल्भड तथा पुल, खेलकुद, व्यायामशाला निर्माण आदि रहेका छन् ।
कृषि प्रधान देश भएकोले, कृषिको विकासबिना अन्य विकास फिका हुने तथ्यलाई राम्ररी बुझेको गाउँपालिकाले यस पटकको बजेटमा यो क्षेत्रलाई विशेष प्राथमिकतामा पारेको छ । कृषिमा आत्मनिर्भर बनाउन विभिन्न गोष्ठी तथा व्यावसायिक तालिमको आयोजना गर्दै आएको गाउँपालिकाले यस आगामी आर्थिक वर्षमा ती कार्यक्रमलाई निरन्तरता दिँदै उत्कृष्ट किसान सम्मान गर्ने कार्यक्रमसमेत समेटेको छ ।
गाउँपालिकाले जनतालाई सूचना र प्रविधिमा पहुँच बढाउने उद्देश्यका साथ वडा वडामा इन्टरनेटको फाइवर विस्तार गरी फ्री वाई फाई जडान गर्ने कार्यक्रम अघि सारेको छ । साथै गाउँपालिकाले कालिकोशी र भलुवा सिमसार लगायतको विकास गरी पर्यटकीय विकास गर्ने भएको छ ।
गाउँपालिकाले वडा नंं ६ मा रहेको रमाइलो बजार, वडा नं. ४ मा रहेको बयरवन बजार र वडा नं. २ मा रहेको दलेली बजारमा सिसि टिभी क्यामेरा जडान गरेर ती बजारलाई शान्ति सुरक्षाको दृष्टिले मजबुत बनाउने योजना अघि सारेको छ ।
विभिन्न ७ वटा वाडामा विभाजित यस गाउँपालिकाले जनसङ्ख्याको आधारमा वडागत सिलिङ बजेट छुट्याएको छ । यसरी छुट्ट्याइएको सिलिङ बजेट ५८ लाखदेखि ७५ लाखसम्म रहेको छ ।