काठमाडौँ, १५ असार । काठमाडौँ उपत्यकामा आजदेखि सवारी साधन खुलेका छन् । उपत्यका प्रशासनले निषेधाज्ञालाई केही खुकुलो पार्दै मङ्गलवारदेखि जोरबिजोर प्रणालीमा सवारीसाधन चलाउन अनुमति दिएसँगै सवारीसाधनहरू सडकमा चल्न थालेका हुन् ।
काठमाडौँ उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञाकाबिच पनि जनजीवनलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको थियो ।जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको बताए ।
सवारीसाधन खोल्ने सरकारको निर्णयसँग सवारीसाधन खुलेका देखिन्छन् भने यातायात खुलेसँगै जनजीवन पनि सामान्य बन्दै गएको छ । तर सरकारले स्वास्थ्य प्रोटोकलको पालनामा भने कडाइ गर्ने बताएको छ । सवारीसाधनलाई सिट क्षमताको आधारमा वर्गीकरण गरेको छ । २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारी साधनमा बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने नियम बनाएको छ ।
सवारीसाधनलाई पालो सिस्टममा चल्न दिने निर्णय गरेको सरकारले बिहान ११ बजेदेखि ६ बजेसम्म सबै किसिमका पसलहरूलाई खोल्न दिने भएको छ ।