विपक्षी गठबन्धनले दर्ता गरेको रिट पाँच नेताको मात्रै भएको महान्यायाधिवक्ता बडालको दाबी


काठमाडौँ, १४ असार । विपक्षी गठबन्धनले दर्ता गरेको रिट १४६ सांसदको नभएर पाँच नेताको मात्रै भएको महान्यायाधिवक्ता रमेश बडालले दाबी गरेका छन् । 

आजको संवैधानिक इजलासको जवाफी बहसको क्रममा बडालले कानुन अनुसार १४६ सांसदको रिट भन्न नमिल्ने बताएका छन् । यो रिट शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलको मात्रै भएको उनको जिकिर रहेको छ ।

आइतबारसम्म रिट निवेदकका पक्षबाट बहस सकिएको छ भने सोमवारदेखि जवाफी बहस सुरु भएको छ । प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित इजलासले यो मुद्दाको सुनुवाइ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्