बेलबारी ९ वडा कार्यालयले गर्यो जग्गादातालाई सम्मान


बेलबारी, १४ असार । बेलबारी नगरपालिका वडा नं ९ कार्यालयले वडा भरिका विभिन्न सङ्घ संस्थालाई जग्गा दान गर्ने जग्गादाताहरूलाई सम्मान गरेको छ ।  वडा  कार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरेर जग्गादाताहरूलाई सम्मान गरेको हो ।                         

उक्त अवसरमा काली मा.वि बेलबारी ९ का व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद चौधरी, प्रधानाध्यापक नारायणप्रसाद कोइराला, वडा सदस्यहरू र जग्गा दाताका परिवारका सदस्यहरूको सहभागिता रहेको थियो ।                                             

बेलबारी ९ का  वडाध्यक्ष नगेन्द्र खड्काले दाताहरूले संस्थालाई लाएको गुन कहिल्यै भुल्न नसकिने बताउँदै अरूलाई पनि प्रेरणा मिलोस् भनेर यो कार्यक्रमको आयोजना गरिएको बताए । साथै अध्यक्ष खड्काले विशेष कार्यक्रम गरेर सार्वजनिक रूपमै जग्गादातालाई सम्मान गर्ने कार्यक्रम राखिएको भए पनि कोरोनाका कारणले थोरै मानिसको उपस्थितिमा कार्यक्रम सम्पन्न गर्नु परेको बताए । 

सङ्घ संस्थाको तर्फबाट बोल्दै काली मा.विका प्रधानाध्यापक नारायण कोइरालाले दाताहरूले संस्थामा लगाएको योगदान अमूल्य रहेकोले विद्यालयले त्यसको सधैँ सम्मान गर्ने प्रतिबद्धता जायर गरे । 

दाताहरूको तर्फबाट बोल्नेले संस्थालाई जग्गा दिन पाएकोमा आफूहरूलाई खुसी लागेको बताएका थिए  । तर केही दाताहरूका परिवारका सदस्यले भने सम्झौता अनुसार काम नभएकोमा गुनासोसमेत प्रकट गरेका थिए । 

बेलबारी ९ मा रहेको काली मा.विलाई स्व. लेटीलाल राजवंशी र स्व. चोपासरी राजवंशीले संयुक्त रूपमा १६ कट्ठा,  स्व. छुचाई राजवंशी, स्व. हरकचन राजवंशी, स्वं अमलाल राजवंशी र स्वं मादालाल राजवंशीले संयुक्त रूपमा १४ कठा १५ धुर र स्व. मियाज राजवंशीले १९ धुर जग्गा उपलब्ध गराएका थिए ।  

त्यस्तै ज्ञानोदय आधारभूत विद्यालयका लागि टीकालक्ष्मी भण्डारी र देवकी भण्डारीबाट १ कट्ठा १ धुर, स्व. हरिप्रसाद गुरागाईँको नाममा कमला गुरागाईँ र टीकालक्ष्मी गुरागाईँबाट १ कट्ठा १ धुर र गुणराज लामिछानेबाट १ कट्ठा १० धुर गरी ३ कट्ठा १५ धुर जग्गा प्राप्त भएको थियो । त्यसै गरी कृषि भवन निर्माणका लागि स्व. पवनलाल चौधरी र इनरवती चौधरीले २ कट्ठा १५ धुर र डाँगीहाट स्वास्थ्य चौकी निर्माणका लागि स्व. राजकुमार चापागाईँको नाममा छोरा ज्ञानेन्द्र चापागाईँ र बुहारी विन्दु चापागाईँले २ कट्ठा १५ धुर जग्गा उपलब्ध गराएका थिए । 

साथै वडा कार्यालयले यसै आर्थिक वर्षमा विभिन्न ११५ जना ज्येष्ठ नागरिकलाई पौष्टिक आहारसहित सम्मान गरेको वडा सचिव इन्दिरा भण्डारीले जानकारी दिएकी छिन् ।   

 

   

प्रतिक्रिया दिनुहोस्