सुन्दरहरैँचा, ११ असार । १ नम्बर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा यतिखेर योजनाहरूको अनुगमनमा जुटेका छन् । बिहीबार सुन्दरहरैँचा नगरपालिका वार्ड न. १० मा निर्माणाधीन अवस्थामा रहेको रिन्छेन छ्योलिङ बौद्ध गुम्बाको राज्यमन्त्री ओझाले अनुगमन गरेका छन् ।
अनुगमनका लागि मन्त्री ओझा र सुन्दरहरैँचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङ सहितको टोली गुम्बा क्षेत्रमा पुगेको थियो ।अनुगमनका क्रममा मन्त्री ओझाले, नेपालले धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेको हुँदा यिनीहरूको व्यवस्थित विकास नै आजको आवश्यकता रहेको बताउँदै जनतप्रतिनिधिहरूले जनताप्रति उत्तरदायी हुनुपर्ने कुरामा जोड दिएका थिए ।
राज्यमन्त्री ओझाले बहुजात, बहुधर्म, बहु संस्कृति बोकेका सबै नेपालीहरू समान भएकोले आपसमा सहिष्णुता र सम्मानका साथ मिलेर बस्नुपर्ने बताए । विभिन्न जात, धर्म मिलेर सुन्दर फूलबारीको रूपमा मौलिक पहिचान स्थापित गरेको नेपालमा कसैले पनि आँच आउने काम गर्न नहुने बताए । जनप्रतिनिधिहरू जनता प्रति उत्तरदायी हुनुपर्ने भन्दै नेपालका धर्म र संस्कृतिहरूको संरक्षण, उत्थान तथा विकास गर्नु राज्यको दायित्व भएको बताए । धार्मिक पर्यटनको समेत नेपालले राम्रो सम्भावना बोकेको हुँदा व्यवस्थित रूपले यस्ता पूर्वाधार हरूको विकास गर्दै लैजानुपर्ने राज्यमन्त्री ओझाले बताए ।
गुम्बा निर्माण समितिका अध्यक्ष इन्द्र मेघी तथा अन्य पदाधिकारीहरूले अनुगमनमा पुगेका राज्यमन्त्री ओझालाई स्वागत गर्दै बजेट व्यवस्थापनका लागि धन्यवादसमेत ज्ञापन गरेका थिए । सुन्दरहरैँचा नगरपालिका वार्ड न. १० मा बन्दै गरेको उक्त बौद्ध गुम्बामा सङ्घ, प्रदेश र नगरकोसमेत लगानी रहेको छ ।