किराँत प्रदेशमा जोड गर्न वक्ताहरूको सुझाव

किराँत बाहेक स्वीकार्य छैनः प्राडा न्यौपाने


सुनसरी । प्रदेश नम्बर १ को नाम किराँत राख्न निरन्तर प्रयास गर्नुपर्ने वक्ताहरू बताएका छन् । आज(शनिवार) सुनसरीको इटहरीमा किराँती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले आयोजना गरेको प्रदेश नम्बर १ को नाम किराँत सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विभिन्न पार्टीका नेता तथा प्रदेश सांसदहरूले सो कुरा बताएका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा पार्टी सम्बद्ध आदिवासी जनजाति महासङ्घ, नेपालको केन्द्रीय संयोजक सुरेश आले मगरले सातैवटा प्रदेशको नाम पहिचानको आधारमा अधिकार आउनुपर्ने बताएका छन् ।

जनताको चित्त प्रश्न नभएको अवस्थामा देशमा समृद्धि आउन नसक्ने भन्दै प्रदेश नम्बर ४ को नाम गण्डक त्यहाँको जनताले स्वीकार नगर्ने बताए । सबै प्रदेशको नाम पहिचानको आधारमा आउनुपर्ने र १ नम्बरमा किराँत हुनुपर्ने मगरको भनाइ थियो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश सचिवसमेत रहेका सङ्घीय सांसद सुरेशकुमार राई (हिमाल)ले पार्टीको १ नम्बर प्रदेशको पार्टी हेडक्वाटरले पहिचानको आधारमा नाम राख्न पहल गरिरहेको बताए । अधिकारसहितको प्रदेशको नाम पहिचानको आधारमा राख्न झापा, मोरङ र सुनसरी केन्द्रित आन्दोलन गर्नुपर्ने बताए ।
नेकपाको प्रदेश सदस्य तथा पार्टी सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय अध्यक्ष मुकेश मेयाङ्वो(मुक्साम)ले किराँत सभ्यता लिम्बुहरूको पनि रहेको तर्क राख्दै प्रदेशको नाम किराँत मात्र वा किराँत, लिम्बुवान, कोशिलामा कोसीसम्म जोडे पनि फरक नपर्ने विचार राखेका छन् । पहिचानको आधारमा नाम प्रदेशको समृद्धिको लागि भएको तर विखण्डनको लागि हुन नहुने बताए ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(लिम्बुवान)को संसदीय दलको नेता विष्णु तुम्बाहाम्फेले किराँत प्रदेशको नाम कुरा उठाउँदा लिम्बुवान आन्दोलनलाई भुल्न नहुने बताए ।
यायोक्खा केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर राईले प्रदेशको नाम किराँत पहिचानकै आधारमा राखिनुपर्ने अडान राखे । लेखक÷पत्रकार भवानी बरालले प्रदेशको नाम किराँत राखिनुपर्ने बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

ब्राह्मण कुलमा जन्मेर किराँती सभ्यतामा हुर्केको हुँ : प्राडा न्यौपाने

कार्यक्रममा प्राध्यापक डा.टङ्क न्यौपानेले प्रदेशको नाम किराँत बाहेक अर्को स्वीकार्य नहुने बताए । न्यौपानेले प्रदेशको ना किराँत रहिसक्ने तर्क गर्दै लिम्बुहरूले अवरोध गर्नु नहुने बताए । आफू ब्राह्मण कुलमा जन्मेर पनि किराँती सभ्यतामा हुर्केको कारण प्रदेशको नाम किराँत राख्दा सबैभन्दा साझा हुने डा.न्यौपानेको तर्क थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरू अर्जुन राई, सीता थेबे, उमिता बराइली, नारायण बुर्जा मगर, नेपाल आदिवासी जनजाति महासङ्घ १ नम्बर प्रदेश अध्यक्ष धुर्ब सुब्बा, किराँत याक्थुङ चुम्लुङ केन्द्रीय सचिव योगेन्द्र पालुङ्वा, धरान नगरपालिको पूर्व प्रमुख बम देवान लगायतले बोलेका थिए ।

मोर्चाको केन्द्रीय अध्यक्ष राजन किराँती (वासु)को सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष अशोक राईले स्वागत र महासचिव अर्जुन किराँतीले सञ्चालन गरेका थिए । सम्पूर्ण वक्ताहरूले प्रदेशको नाम किराँत राख्न दबाब आन्दोलन आवश्यक रहेको बताएका थिए । पहिचानको आधारमा नाम राख्न राई, लिम्बू लगायतको समुदायको एकता आवश्यक रहेको सुझाव दिएका थिए ।

किराँती मोर्चाले प्रदेशको नाम किराँत राख्नको लागि निरन्तर, अन्तरक्रिया, छलफल तथा दबाब कायम राख्ने योजना गरेको महासचिव किराँतीले बताए ।

प्रतिक्रिया दिनुहोस्