दुई मेयरसहित यी १४ स्थानीय जनप्रतिनिधिको पद खाली


काठमाडौँ, ११ असार । दल त्याग गरेर अर्कै पार्टीमा प्रवेश गरेका विभिन्न १४ जना जनप्रतिनिधिहरूको पद रिक्त भएको छ । कारबाही परेकाहरू २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भएर विजयी भएका थिए ।

तर दल उनीहरूले पार्टी छाडेर अन्यत्रै मा गए पछि पदमुक्त गर्न माओवादी केन्द्रले निर्वाचन आयोगमा पत्रचार गरेको थियो । माओवादीको पत्रकै आधारमा आयोगले उनीहरूलाई पदमुक्त गरेको छ । 

यसरी पदमुक्त हुनेमा दुई मेयर र पाँच उपमेयर, एक जना गाउँपालिका अध्यक्ष, दुई जना उपाध्यक्ष ४ जना वडाध्यक्ष र एक जना कार्यपालिका सदस्य रहेका छन् । आयोगका अनुसार पदमुक्त हुने नगर प्रमुखहरूमा रौतहटको मैलापुर नगरपालिकाका रिना कुमारी शाह र कटहरीया नगरपालिकाका सियारामप्रसाद कुशवाह रहेका छन् ।  

यस्तै पदमुक्त हुने उपप्रमुखहरूमा कैलालीको भजनी नगरपालिकाकी छायाँदेवी देवकोटा, रौतहटको देवाही गुनाही नगरपालिकाकी परनिया देवी, मैलापुर नगरपालिकाका गौरिशंकरप्रसाद, फतुवाविजयपुर नगरपालिकाकी कान्तिदेवी र माधवनारायण नगरपालिकाकी सिमल कुमारी शाह रहेका छन् । 

यस्तै महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह पदमुक्त भएका छन् । यस्तै वाडाध्यक्षहरूमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ का वडा सुरेशकुमार थापा, कैलालीको गौरीगङ्गा नगरपालिका–४ का भागरथी विष्ट, गोदावरी नगरपालिका–१ का शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका–४ का पुरनसिंह वि.सी. पनि पदमुक्त भएका छन् । त्यस्तै लाहान नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती रहेका छन् । 

पदमुक्त हुनेहरूले माओवादी छाडेर एमोलेमा प्रवेश गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्