विविध कार्यक्रमसहित ओलम्पिक डे सम्पन्न


काठमाडौँ, १० असार । आधुनिक ओलम्पिकको जन्म दिनको रूपमा रहेको जुन २३ लाई आधार बनाएर नेपालमा विगत ५ दिन देखि मनाइँदै आएको ओलम्पिक डे आज सम्पन्न भएको छ ।

ललितपुर, सातदोवाटोस्थित ओलम्पिक कमिटीको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले नेपालको झण्डोत्तोलन गर्नुका साथै पानसमा दीप प्रज्वलन गरेका  थिए । यस्तै कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिकको झण्डोत्तोलन गरेका थिए ।यस्तै ओलम्पियनहरुको टिमले ओलम्पिक टर्चका साथ विभिन्न स्थानको परिक्रमा गरेका थिए ।

ओलम्पिक कमिटीको कार्यालयमा आएर उक्त टर्च ओलम्पियन मुकुन्दलाल श्रेष्ठले प्रमुख अतिथि उपराष्ट्रपतीलाई हस्तान्तरण गरेका थिए । यस्तै प्रमुख अतिथिले कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई र श्रेष्ठले कार्यक्रम संयोजक स्पोर्टस् फर अल कमिसनका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुनले सियोल ओलम्पिकमा प्रदर्शन खेलमा विधान लामाले तेक्वान्दोमा प्राप्त गरेको सफलताको सम्झना गर्दै नेपालले ओलम्पिकमा पदक प्राप्त गर्ने लक्षका साथ अगाडी बढ्नु पर्ने बताए । ओलम्पिकमा पदक प्राप्त गर्ने लक्षका साथ नेपालले दीर्घकालीन योजना सहित लगानी गर्न ध्यानाकर्षण गराए । अहिले सम्म सँगिना वैद्य र दीपक विष्टले मात्र छनौट चरण पार गरी ओलम्पिकमा सहभागिता जनाएको भन्दै नेपाली खेलाडीहरूका लागि नियमित प्रशिक्षण र पूर्वाधार विकासमा ध्यान दिनु पर्ने बताए ।

प्रमुख अतिथि पुनले कोभिडका कारण मृत्युवरण खेलाडीहरू प्रति श्रद्धाञ्जली प्रदान गर्नुका साथै सङ्क्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले खेलकुदले समाजमा सकारात्मक असर पार्ने र यसले शान्ति, संवृद्धि, सद्भाव र विकासका लागि सहयोग पुग्ने बताए । उनले यसका लागि संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबिच सहकार्य भएको बताए ।

कोरोनाको महामारीको विषम परिस्थितिमा खेलकुदले दिन चाहेको नारा भनेको सुरक्षित रहौँ, स्वस्थ रहौँ र बलियो रहौँ भन्न रहेको श्रेष्ठले बताए ।युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले ओलम्पिकमा सहभागी रहने सबै खेलाडीहरूलाई शुभकामना सहित बधाई दिँदै उच्च प्रदर्शनको अपेक्षा रहेको बताए ।

ओलम्पिक डे का संयोजक स्पोर्टस् फर अल कमिसनका अध्यक्ष बिनु गोपाल श्रेष्ठले कार्यक्रमको महत्त्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै महासचिव निलेन्द्र राज श्रेष्ठले नेपाली खेलकुद विकासका लागि दीर्घकालीन योजना र लगानीको आवश्यकता रहेको बताए ।समापन कार्यक्रमको अवसरमा नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्ने राष्ट्रिय सङ्घहरू साईक्लिङ्ग, बक्सिङ, जुडो, पौडी, तेक्वान्दो, भारोत्तोलन, कुस्ती, ट्राईयाथलन, फुटबल, कराँते, उसु, एथलेटिक्स र गल्फलाई कदरपत्र प्रदान गरिएको थियो । यस्तै ओलम्पिक डेलाई सफल बनाउन सहयोग पु¥याउने सङ्घ, संस्था र व्यक्तित्वलाई कदरपत्र प्रदान गरिएको थियो ।

५ दिन सम्म सञ्चालन भएको ओलम्पिक डेमा विभिन्न २३७ कार्यक्रममा करिब ७ हजारले सहभागिता जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्