संसद् विघटनविरुद्धको रिटमाथिको सुनुवाइ आजबाट निरन्तर हुने


काठमाडौँ, ९ असार । संसद् विघटनविरुद्धको रिटमाथिको बहस आजबाट निरन्तर हुने भएको छ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ जना सांसदले दिएको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

सर्वोच्च प्रशासनका अनुसार आज पहिलो दिनको सुनुवाइमा देउवा पक्षबाट तीन जना वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादव तथा दुई जना अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गर्ने सूचि रहेको छ ।सर्वोच्च अदालतले बहसको समय सीमासमेत निर्धारण गरेको छ।

एक जनाले २० –६० मिनेट समय सीमाको निर्धारण गरिएको छ । संवैधानिक इजलासमा संसद् विघटन गर्नुको लिखित कारण प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको कार्यालयले लिखित कारण पेस गरिसकेका छन् । 

सर्वोच्चले वर्तमान सरकारले गरेका निर्णयहरूलाई एकपछि अर्को गर्दै बदर गरिदिएको परिप्रेक्षमा आउन लागेको यो मुद्धाको फैसलालाई महत्वकासाथ हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्