ओलम्पिक डेका अवसरमा विविध कार्यक्रम


काठमाडौँ, ८ असार । आधुनिक ओलम्पिकको स्थापना दिवसको सम्झनामा आयोजित ओलम्पिक डे को अवसरमा नेपाल ओलम्पिक कमिटी, स्पोर्टस् फर अल कमिसनको संयोजनमा नेपालमा पनि विविध कार्यक्रमहरूको आयोजना भई रहेको छ । 

सोही अन्तरगत कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेतको प्रमुख आतिथ्यता तथा प्रदेश नं. ७ का ओलम्पिक डे का अध्यक्ष दान सिंह ठकुरीको अध्यक्षतामा अनाथाश्रम महेन्द्रनगरमा बालबालिकाहरूका लाग खाद्य सामाग्री वितरण गर्ने कार्य सम्पन्न भएको छ ।यसैगरी नेपाल सुटिङ सङ्घको आयोजनमा सातदोवाटोस्थित सुटिङ रेन्जमा मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरियो ।

४० सट टार्गेट खेलाइएको प्रतियोगितामा उत्कृष्ट हासिल गर्ने भक्तपुरकी श्रीला रायमाझीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । यस्तै अन्य सहभागीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

यस्तै धन्यन्तरी फुटसल, हाँडी गाउँमा रहेको ब्याडमिन्टन कोर्टमा ओलम्पिक डेका अवसरमा क्लब ५० नेपालको आयोजनमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितामा सहभागीहरूलाई पूर्व मन्त्री दीपक बोहराले प्रमाण पत्र वितरण गरेका थिए ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग आबद्ध राष्ट्रहरूमा विविध कार्यक्रम गरी मनाइरहेको ओलम्पिक डे नेपालमा पनि शनिवारदेखि मनाइरहेको छ । ५ दिन सम्म सञ्चालन हुने ओलम्पिक डे देशको विभिन्न भागमा विविध कार्यक्रम गरी भव्यतापूर्वक मनाइने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्