मनाङ, ७ असार । अविरल वर्षाको कारण आएको बाढी र पहिरोले गर्दा ठाउँ ठाउँमा थुनिएको मर्स्याङ्दी नदी बिस्तारै खुल्दै गएको छ ।
मनाङको चामे, मुरेडाँडा, लगायतका स्थानमा बाढी पहिरोका कारण थुनिएर बाँधको रूपमा परिणत भएको मर्स्याङ्दी नदी बिस्तारै खुल्दै गएर सामान्य अवस्थामा फर्किएको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले चामे, मुरेडाँडा लगायतका स्थानमा थुनिएको मर्स्याङ्दी नदी अहिले बिस्तारै खुल्दै गएको बताएका छन् । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा परे पछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको प्रजिअ लामिछानेले जनाएका छन् ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण बाढी पहिरो आउँदा २० जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।