सिन्धुपाल्चोक, ६ असार । सिन्धुपाल्चोकको कोदारी राजमार्गमा अनतरगतको लिपिङ खोलामा पुल र सडक भासिदा तातोपानी नाका बन्द भएको छ ।
उक्त पुलको एकातिरको भागमा पहिरो गएको छ भने अर्कोतर्फ पुलको छेउको भाग नै खसेको छ । यसरी पुलको एकापट्टिको भाग नै खसे पछि आवतजावत नै बन्दा हुँदा तातोपानी नाका बन्द भएको प्रहरीले बताएको छ ।
तातोपानीका प्रहरी निरीक्षक नवराज सापकोटाका अनुसार लिपिङ र तातोपानीको कोप्लाङ भन्ने ठाउँमा पनि सडक भासिए पछि तातोपानी नाका हुँदै नेपाल प्रवेश गर्ने कन्टेनरहरू त्यतिकै अलपत्र परेका छन् ।जसले गर्दा खाद्यान्न तथा औषधिहरू लैजान समस्या भएको छ । अरूभन्दा पनि गम्भीर प्रकृतिका बिरामी र गर्भवती महिलाहरूलाई अस्पताल लान ठूलो समस्या रहेको बताइएको छ ।
सवारी आवागमन बन्द भएपछि शनिवार देखि तातोपानी भन्सारको कारोबार समेत ठप्प भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।