कवितामा समकालीनताको लफडा


राजेश विद्रोही

नेपाली कवितामा ‘समकालीन’ शब्दको खास अर्थ छुट्याउन हम्मेहम्मे छ । विश्वविद्यालयमा अहिले पनि २०३० को दशकलाई नै नेपाली कविताको समकालीन समयको आरम्भ विन्दु मान्ने गरिएको छ । यद्यपि समकालीनतालाई चार–पाँच दशकसम्म तन्काउनु सान्दर्भिक र उचित देखिँदैन ।

यो बिचमा सामाजिक–राजनीतिक ठूला–ठूला उथलपुथल भएको मात्र होइन त्यो आन्दोलनको प्रभावबाट नेपाली कविताको स्वर र प्रवृत्तिमा निकै परिवर्तन आएको स्पष्ट छ । त्यस कारण नेपाली कविताको समकालीनतालाई पुनः निर्धारण गर्नु आवश्यक छ ।

अहिले हामी जेलाई समकालीन मान्दै आएका छौँ, त्यसको अर्थ साँघुरिएको महसुस हुन्छ । सामान्यतः २०३० को दशकमा नेपाली कविताको समकालीन प्रारम्भ भएको मान्ने गरिएको छ तर त्यसयता पनि सामाजिक र मूलतः राजनीतिक रूपमा देशमा महत्त्वपूर्ण परिघटनाहरू भएका छन् ।


२०४६ सालको पहिलो जनआन्दोलनको सफलतापछि जारी गरिएको नेपाल अधिराज्यको संविधान २०४७ एउटा मुख्य उपलब्धि थियो । यो संविधानले पहिलोपल्ट मुलुक बहुजातीय र बहुभाषिक भएको स्वीकार गर्दै केही भाषिक तथा सांस्कृतिक अधिकारहरू पनि सुरक्षित गरेको थियो ।


त्यसपछि चलेको माओवादीको १० वर्षे सशस्त्र आन्दोलन, २०६२÷६३ को दोस्रो जनआन्दोलन, २०६३ को माघमा भएको मधेस विद्रोह तथा आदिवासी जनजाति, थारू, मुस्लिम लगायत अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका अनेक आन्दोलन नेपालको सामाजिक–राजनीतिक रूपान्तरणका मियो हुन् ।


यी आन्दोलनको प्रभाव कुनै न कुनै रूपमा साहित्यिक लेखनमा पर्नु स्वाभाविक हो । साहित्यकार पनि यही समाजका अङ्ग भएकाले सामाजिक–राजनीतिक परिघटनाबाट प्रभावित हुन्छन् । यी विशिष्ट परिघटनाको प्रभाव नेपाली कविताको स्वर र प्रवृत्तिमा पनि परेको पाइन्छ ।


आजका लागि ‘समकालीन’ मानिएको साहित्य निश्चित कालखण्डपछि समकालीन रहँदैन । त्यसको समकालीनता समाप्त हुन्छ । समकालीनता अस्थिर र परिवर्तनशील हुने भएकोले यसको कुनै निश्चित कालखण्ड हुँदैनआजका लागि समकालीन मानिएको साहित्य समयको एउटा निश्चित कालखण्डपछि समकालीन रहँदैन । त्यसको समकालीनता समाप्त हुन्छ । यसरी के देखिन्छ भने समकालीनता अस्थिर र परिवर्तनशील हुने भएकोले यसको कुनै निश्चित कालखण्ड हुँदैन । त्यसो भए कति समयभित्र लेखिएका साहित्यिक कृतिलाई समकालीन मान्ने त ? यो एउटा गम्भीर प्रश्न छ ।


समालोचक मोहनराज शर्माले आफ्नो समालोचना ग्रन्थ ‘समकालीन समालोचनाः सिद्धान्त र प्रयोग (२०६३)’ मा चालु वर्तमानको एक–दुई दशकव्यापी अभिलक्षणलाई समकालीनता भनेका छन् । उनका अनुसार समकालीन शब्दले युगीन परिवर्तन अनुसार बदलिएको वर्तमान र वर्तमानकालिक कृतिलाई बुझाउँछ ।


मानिसको जीवन गतिशील छ, उसका विचार र मान्यताहरू पनि परिवर्तनशील छन् । मानिस निरन्तर नवीन सिद्धान्त, धारणा, मान्यता र आदर्शको खोजमा सक्रिय हुने भएकोले कृति पनि स्थायी मूल्यको नहुने उनको मत छ । एउटा कृति हरेक समयमा समकालीन नहुने यथार्थलाई यस भनाइले थप पुष्टि गर्छ ।


कृतिमा समकालीनताको आयाम यतिमै सीमित छैन । समकालीन समयमा लेखिएका सबै रचना समकालीन हुन सक्दैनन् र हुँदैनन् पनि । रचना समकालीन हुनलाई त्यसमा खास अभिलक्षण हुनु आवश्यक छ अर्थात् आजको समयमा लेखिनु नै समकालीन कविताको अभिलक्षण होइन ।समकालीन युगजीवनका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक विकृति–विसङ्गति र मानवीय सङ्घर्षहरू अभिव्यञ्जित
कविता नै समकालीन कविता हुन् । समकालीन भनेको वर्तमान वा आजको समय हो तर वर्तमान समयमा लेखिएका सबै कविता समकालीन हुँदैनन् ।


नेपाली कवितामा समकालीनता

नेपाली कविताका सन्दर्भमा आधुनिक कालकै पछिल्लो समयमा लेखिएका कवितालाई समकालीन मान्ने गरिएको छ तर यसको प्रारम्भ विन्दुका समयमा भने विद्धानहरूबिच एकमत छैन ।


प्रयोगवादी जटिलता र असम्प्रेष्यताबाट मुक्त हुँदै सम्प्रेष्य कविता लेखनतर्फको यात्राको थालनीलाई नेपाली कवितामा समकालीनताको प्रारम्भ विन्दु मान्ने गरिएको छ । २०१७ सालमा सुरु भएको प्रयोगवादी धाराका कविताहरू जटिल, क्लिष्ट र दुर्बोध्य भएका कारण कविता र पाठकबिच दूरी बढ्न थालेपछि नेपाली कविहरू समकालीन युगजीवनका विसङ्गति र यसबाट सिर्जना भएका अनेक दुःसाध्य पीडाहरूलाई सम्प्रेष्य कविता मार्फत अभिव्यक्त गर्न अग्रसर भए ।

कतिपय विद्वान्हरू २०४६ सालपछिको समयखण्डलाई समकालीन मानेर समकालीन कविताको विश्लेषण गर्नु नै सबैभन्दा उपयुक्त हुने धारणा अघि सार्छन् तर २०४६ सालयता पनि देशमा थुप्रै महत्त्वपूर्ण सामाजिक र मूलतः राजनीतिक परिघटना भएका छन् । अन्तरिम संविधान–२०६३ मा सङ्घीय व्यवस्थाले प्रवेश पायो र अहिले हामी यसको अभ्यास गरिरहेका छौँ ।


यो पृष्ठभूमिमा २०४६ सालको परिवर्तन पनि अब समकालबाट अलग्गिसकेको छ । गणतान्त्रिक परिवेश आजको यथार्थ हो । समय र समाजको सापेक्षतामा अब २०५२ साललाई समकालीन नेपाली कविताको आरम्भ विन्दु मान्नु सबैभन्दा बढी तर्कसङ्गत हुन्छ ।

समकालीन वर्तमानसँग आबद्ध हुन्छ र यो आबद्धताबाट प्रकट हुने अभिलक्षण पनि समकालीनता हो । वर्तमान समयको गणतान्त्रिक, सङ्घात्मक र धर्मनिरपेक्ष परिवेशलाई माओवादी विद्रोहबाट अलग्याउन मिल्दैन । त्यसैले नेपाली कवितामा २०३० को दशकमा सुरु भएको धारा समाप्त भएर २०५२ मा नयाँ धारा प्रारम्भ भइसकेको छ ।


२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली आदिवासी जनजाति समुदायमा जातीय जागरणको चेतना जुर्मुराउन थालेको पाइन्छ । त्यसो त आदिवासी जनजाति समुदायले पञ्चायतकालमै पनि भाषिक तथा सांस्कृतिक आन्दोलनहरू नगरेका होइनन् तर राज्यको निरङ्कुश हस्तक्षेप र दमनका कारण ती आन्दोलन धेरै लामो समयसम्म टिक्न सक्दैनथे ।

२०४६ पछि भने खुल्ला प्रजातान्त्रिक परिवेश र २०४७ को संविधानबाट प्राप्त प्रजातान्त्रिक अधिकारका कारण आदिवासी जनजाति समुदाय आफ्ना भाषा र संस्कृतिको संरक्षणमा सक्रिय हुन थालेको पाइन्छ । उनीहरूले विभिन्न सामाजिक संस्थाहरू मार्फत मातृभाषा, लिपि, संस्कार–संस्कृति आदिको संरक्षणका पक्षमा गतिविधि गर्न थाले । परिस्थिति धेरै परिवर्तन भएको भने थिएन ।


२०४७ सालपछिको प्रजातान्त्रिक अवधिमा पनि काठमाडौँ नगरपालिकाले नेवारी तथा राजविराज नगरपालिका र धनुषा जिल्ला विकास समितिले मैथिली भाषालाई आफ्ना कामकाजमा प्रयोग गर्ने निर्णय गरेका थिए । त्यस विरुद्ध रिट परेपछि सर्वोच्च अदालतले ‘स्थानीय निकाय’ का ती निर्णयलाई बदर गर्दै फैसला गरेको थियो । यसबाट २०४७ सालपछिको प्रजातान्त्रिक अवधिमा पनि व्यवहारतः नेपालीबाहेक अन्य समुदायका मातृभाषाको प्रयोग र विस्तारमा राज्य संयन्त्रले अवरोध सिर्जना गरेको स्पष्ट हुन्छ ।


नेकपा माओवादीले सशस्त्र विद्रोहको थालनी गरेपछि भने जातीय मुद्दा क्रमशः सतहमा आउन थाल्यो र यो विषय नेपाली समाजमा भुसको आगो जस्तै भित्रभित्रै फैलिन थाल्यो । अझ २०५७ सालको माघ–फागुनमा सम्पन्न माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले त जातीय मोर्चाहरू नै गठन गर्ने निर्णय ग¥यो । माओवादीको यो निर्णयले तात्कालिक नेपाली समाजमा हलचल नै ल्याइदियो । यसको प्रभाव पनि नेपाली साहित्यमा नपर्ने कुरै हुँदैन ।

के हो समकालीन कविताको मूल स्वर ?


समकालीन नेपाली कविताको मुख्य स्वरबारे अध्येताहरूबिच मतैक्य छैन । समालोचकहरूले आ–आफ्नै शिविर वा ध्रुवलाई केन्द्रमा राखेर समकालीन नेपाली कविताको मूल स्वर वा मूल प्रवृत्तिको निरूपण गर्ने गरेका छन् । एकथरी समालोचकहरूले उत्तर आधुनिकतावादी बहुलवादी स्वरलाई आजका नेपाली कविताको मूल स्वर मानेका छन् । प्रगतिवादी समालोचकहरूले प्रगतिवादी चासोको काव्यिक अभिव्यक्ति नै आजका कविताको मुख्य स्वर भएको ठम्याएका छन् ।


वास्तवमा आजका कविहरूले नेपाली समाजमा विद्यमान सबै प्रकारका अन्तरविरोध र शोषणका सबै रूपहरूको अन्त्य चाहेका छन् । यही मुक्तिकामी चाहना नै आजका अर्थात् समकालीन कविताहरूको मुख्य स्वर हो ।


राजनीतिक रूपमा जातीय आत्मनिर्णयको अधिकार र जातीय स्वशासनको मुद्दा चर्चा र बहसको केन्द्रमा आइरहेको परिवेश र पृष्ठभूमिमा २०५० को दशकको अन्त्यतिर जनजाति कविहरूले आफ्ना कविता मार्फत यस विषयमा काव्यिक अभिव्यक्ति दिन थाले ।

यसै समयमा अर्थात् २०५७ भदौ १३ गतेको रूपरेखा साप्ताहिकमा जातीय मुक्तिको आग्रहसहित ‘सृजनशील अराजकता’ को अभियान उद्घोष गरियो । यस अभियानलाई कविहरू उपेन्द्र सुब्बा, राजन मुकारुङ र हाङयुग अज्ञातले प्रारम्भ गरेका थिए । २०६० को मध्यतिर ‘उत्तरवर्ती सोच’ नामक अभियान पनि पूर्वी नेपाल पाँचथरबाट थालियो । यस अभियानका अगुवा कविहरू सगुन सुसारा, राज माङ्लाक र भवानी तावा थिए भने यसका वैचारिक व्याख्याता कवि तथा समालोचक थाम्सुहाङ पुष्प सुब्बा थिए ।


राजधानीबाट त्यसै वर्ष ‘रङ्गवादी आन्दोलन’ को थालनी भयो । रङ्गवादी आन्दोलनको पहिलो घोषणा पाँचथरकै कवि धर्मेन्द्रविक्रम नेम्बाङले २०६० मा प्रकाशित आफ्नो कविता सङ्ग्रह ‘भीरैभीरको रङ’ मा ‘विशेष रङ्गवाद’ का रूपमा गरेका थिए । यस आन्दोलनमा समदर्शी काइँला, स्वप्निल स्मृति, चन्द्रवीर तुम्बापो जस्ता कविहरू सहयात्रीका रूपमा संलग्न छन् ।


यी सबै आन्दोलन र अभियानहरू जातीय विभेदको विरोध गर्दै जातीय समानताको पक्षमा केन्द्रित छन् । २०५० को दशकका यिनै हस्तक्षेपकारी परिघटनाहरूले सिर्जना गरेको परिवेशमा दशकको अन्त्यतिर सुरु भएको सांस्कृतिक लेखन नै समकालीन नेपाली कविताको मूल प्रवृत्ति हो ।

साहित्य र राजनीति भिन्न विषय जस्ता लागे पनि राजनीतिबाट साहित्यले कुनै न कुनै रूपमा प्रभाव ग्रहण गरेकै हुन्छ । त्यसैले तत्कालीन समयको राजनीतिक प्रभाव साहित्यमा देखिनु अनौठो विषय होइन । राजनीतिक प्रभावको प्रतिबिम्ब साहित्यका अन्य विधाको तुलनामा कवितामा अझ टड्कारो देखिन्छ ।


जनजाति कविहरूले जनजातीय भाषा अर्थात् मातृभाषाका शब्दहरूका साथै आफ्नो समुदायमा प्रचलित मिथक, बिम्ब र प्रतीकहरूको प्रयोग गरेर आफ्नो जातीय पहिचान वा अस्तित्वका पक्षमा सुन्दर काव्यात्मक अभिव्यक्ति दिए । नेपालमा सदियौँदेखि एउटा जाति, एउटा धर्म, एउटा संस्कृति र एउटा भाषाको वर्चस्व कायम रहेको थियो । त्यही शासकवर्गीय जातीय समुदायबाट जातीय तथा भाषिक, धार्मिक र सांस्कृतिक उत्पीडनमा परेका आदिवासी जनजाति समुदायका कविहरूले यो दशकभरि आफ्ना शक्तिशाली सांस्कृतिक सिर्जनाहरू मार्फत सत्ताको केन्द्रमा हस्तक्षेप गरिरहे ।


यो लेखन अहिले पनि उत्तिकै सामर्थ्य र प्रभावका साथ समकालीन नेपाली कवितामा जारी छ र यो लेखन नै अहिलेको मूल प्रवृत्ति हो । यसलाई पहिचानवादी साहित्य वा सांस्कृतिक लेखन भन्ने गरिएको छ ।


यस धाराका स्रष्टाहरूले राज्यद्वारा गरिएको जातीय उत्पीडनका साथै भाषिक, धार्मिक र सांस्कृतिक दमनका विरुद्ध आक्रोशपूर्ण हुङ्कार गर्दै आफ्नो जातीय पहिचान र अस्तित्वका पक्षमा कविता मार्फत शक्तिशाली स्वर उराले । नेपाली समाजको सन्दर्भमा यो सांस्कृतिक पुनर्जागरणको समय हो र यस समयमा सबै उत्पीडितहरूले मुक्तिको आकाङ्क्षासहित उत्तिकै प्रभावशाली आवाज मुखरित गरेका छन् । त्यसैले यो पछिल्लो धारा सांस्कृतिक लेखनको हो ।

यस अभियानमा संलग्न स्रष्टाहरूले गुमेको पहिचानलाई स्थापित गर्नुपर्ने आग्रहसहित कविताहरू मार्फत सत्ताको टाउकोमा घन बजारिरहे । यो नै समकालीन कविताको मुख्य स्वर हो ।


साहित्य र राजनीति भिन्न विषय जस्ता लागे पनि राजनीतिबाट साहित्यले सधैँ कुनै न कुनै रूपमा प्रभाव ग्रहण गरेकै हुन्छ । त्यसैले तत्कालीन समयको राजनीतिक प्रभाव साहित्यमा देखिनु अनौठो विषय होइन । राजनीतिक प्रभावको प्रतिबिम्ब साहित्यका अन्य विधाको तुलनामा कवितामा अझ टड्कारो देखिन्छ ।

२०५२ सालमा प्रारम्भ भएको माओवादी सशस्त्र आन्दोलनबाट सिर्जित परिवेश पनि यस अवधिका कविताको महत्त्वपूर्ण प्रवृत्तिका रूपमा देखिन्छ । यसको पक्षमा लेख्ने कविहरूले राज्यले गर्ने अनेक किसिमका दमन र थिचोमिचोको विरोध गर्नु अस्वाभाविक होइन । जनजाति समुदायका कविहरूले पनि यस समयमा राज्य–दमनकै विरुद्ध काव्यिक अभिव्यक्ति दिए ।


सबैभन्दा ठूलो कुरा त यी कविताहरू आफ्नो समुदायको जरासँग जोडिएका छन् । यिनले आम मानिसको जीवनका जटिलता, पीडा, तिनले गरेका सङ्घर्ष र आफ्नै भूमिमा सुकुम्वासी हुनुपरेका कथालाई आफ्ना विषय बनाएका छन् । समकालीन नेपाली कविताको सौन्दर्यमा आएको परिवर्तन हो । विभिन्न जनजातीय पहिचानका अभिव्यक्ति, अनुराग, विद्रोह र प्रतीकात्मक भावनाका समवेत स्वरहरू नेपाली काव्यमा प्रवेश गरिरहेको अवस्था भए पनि धेरै थरी समालोचना र छलफलमा यसबारे त्यति प्रसङ्ग नउठ्नु आश्चर्यपूर्ण विषय भएको छ । नेपाली कवितामा आएको यति युगान्तकारी परिवर्तनबारे उल्लेख्य रूपमा छलफल भएको पाइँदैन अथवा समुचित महत्त्व दिएको पाइँदैन ।


आजका जनजाति स्रष्टाहरू सत्ताका भाट होइनन् अथवा शासकहरूको विरुदावली गाएर कुनै आकर्षक पद प्राप्त गर्न यिनले कविता लेखेका होइनन् । यिनका कविताले शासकहरूसँग सीधा प्रश्न गर्छन् । शासकहरूसँग आँखा जुधाएर प्रश्न गर्नु र तिनीहरूसँग पौंठेजोरी खेल्नु चानचुने कुरा होइन । इतिहासमा यस्ता घटना विरलै हुन्छन् ।


शासकहरूको गुणगान गाउन कविहरूलाई दरबारमा जागिर दिएर राख्ने परम्परा भएको संस्कृतिमा हुर्किएका कविहरूले आफ्ना खुट्टामा उभिएर स्वाभिमानपूर्ण राग अलाप्नु इतिहासको सानो परिघटना होइन । यो निकै अर्थपूर्ण छ । (अनलाईनखवरबाट)

प्रतिक्रिया दिनुहोस्