काठमाडौँ, ६ असार । मौसमको प्रभाव तराईतिर सर्दा आज तराईमा आज धेरै पानी पर्ने सम्भावना रहेको छ । शनिवारदेखि केही मत्थरजस्तो देखिएको मौसम आजदेखि तपाईँतिर सक्रिय रहने मौषविदले जनाएका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासी आज र भोलि वर्षाको मात्रा बढ्ने र कतिपय स्थानमा निकै भारी वर्षा हुने सम्भावना रहेको बताउँछिन् ।
आइतबार बिहान पनि प्रदेश–१, दुई र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तुलनात्मक रूपमा तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति प्रदेश–१, प्रदेश–२ तथा बागमती प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएकोले उक्त क्षेत्रमा नदीहरूमा पानीको मात्र बढ्न जाने र त्यसले असरसमेत गर्न सक्ने हुनाले सतर्क रहन भनिएको छ ।
गत सोमवार देखि परेको अविरल वर्षाले देशभर १७ जनाको ज्यान गइसकेको छ भने १७ जना घाइते र २२ जना बेपत्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ । यस क्रममा बाढी तथा पहिरोले देशमा अरबौँको क्षति पुराएको छ ।