काठमाडौँ, ६ असार । केही दिनदेखि परेको अविरल वर्षाले देशमा ठूलो क्षति पुर्याउदै आएको छ । सोमवारदेखि परेको पानीले देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको हो ।
शनिवार दिउँसोसम्मको तथ्याङ्क हेर्दा बाढी पहिरोबाट देशभर १७ जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । २२ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बाढी पहिरोबाट देशभर १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका गरी १७ जनाको मृत्यु भएको छ । बाढीबाट ३ जना सिन्धुपाल्चोकमा, ३ जना डोटीमा र सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १–१ जना रहेका छन् ।
यसैगरी बाढी पहिरोमा परी २२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्तामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी २१ जना रहेका छन् । बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यस वर्ष गत वर्षभन्दा केही अघि नै मनसुन सुरु भएको छ । सुरुको अवधिमै यति ठूलो क्षति पुर्याएको छ भने भोलि धेरै वर्षा हुने समयमा भयावह अवस्था आउने अनुमान गरिएको छ ।