बेलबारी, ४ असार । बेलबारी नगरपालिकाले तथ्यहीन समाचार सम्प्रेषण भएको भन्दै दुःख व्यक्त गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । बोयर बाख्रा प्रकरणका विषयलाई लिएर नगरपालिकाले तथ्यहीन समाचार सम्प्रेषण नगर्न आग्रह गरेको हो ।
शुक्रवार बेलबारी नगरपालिकाले प्रेस विज्ञप्ति नै निकालेर, ग्रो अर्ग्यानिक कृषि प्रा.लि. सङ्खुवासभाले सम्झौता विपरीत बाख्रा ल्याएपछि केही सञ्चार माध्यमहरूले नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको मिलेमतो भएको भन्दै समाचार प्रकाशन प्रसारण हुँदै आएकोप्रति आपत्ति जनाएको छ ।
नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाका कुमारी पराजुली र प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले मिलेमतोमा भ्रष्टाचार गरेको भन्दै रकम किटान गरेर नै समाचार सम्प्रेषण भएको थियो । बोयर बाख्रा प्रकरणको सत्य तथ्य छानबिनको, स्थानीयले तीव्र माग गरिरहेका छन् भने केही विरोध प्रदर्शनी पनि भएको थियो । बेलबारी नगर कार्यपालिका सदस्य तथा वडा नं.१ का सदस्य बिन्दुकला गुरुङको संयोजकत्वमा छानबिन समिति गठन गरेर छानबिन सुरु भइसकेको छ भने समितिले ग्रो अर्गानिक कृषि प्रा.लिको धरौटी जफत गर्ने निर्णय समेत गरेको छ ।
नगरप्रमुख सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘बेलबारी नगरपालिकाले सूचनाको हकको सम्मान गर्दै सरोकारवालाले माग गरेका सूचना र जानकारी सहज ढङ्गले उपलब्ध गराउँदै आएको अवस्थामा केही मिडियाले तथ्यहीन, निराधार र भ्रामक समाचार प्रकाशन प्रसारण गर्ने गरेकोप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’ ‘यसले आम जनतालाई भ्रममा पार्ने गरी विना प्रमाण तथ्यहीन, कपोकल्पित र पूर्वाग्रह राखेर कसैको चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण नगर्न समेत सचेत गराउन चाहन्छौँ ।’
विज्ञप्तिमा भनिएको छ ‘राज्यको चौथो अङ्गको रूपमा रहेको सञ्चार माध्यमले स्वतन्त्रता, निष्पक्षता र जबाफदेहिताको सिद्धान्तमा आधारित समाचार सम्प्रेषण गर्नु पर्छ । सञ्चार माध्यमको भूमिका र महत्त्वमाथि नगरपालिकाको सदैव सम्मान गर्ने हुँदा सञ्चार जगतलाई पनि आफ्नो आचरण र पेसागत मर्यादा कायम गरी निष्पक्ष र तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछौँ ।’
नगरपालिकाले यसरी भ्रम सृजना गरी कसैको चरित्र हत्या गर्नु निन्दनीय र घृणित कार्य मात्र नभई मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ को उपदफा २ क बमोजिम कसुर ठहरिने हुनाले यस्ता भ्रामक र घृणित कार्य नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ ।
बेलबारी नगर कार्यपालिकाको जेठ ३१ को ६९ औँ बैठकले ठेक्का रद्द गरी ग्रो अर्ग्यानिक कृषि प्रा.लि सङ्खुवासभालाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौँलाई सिफारिस गरी धरौटी समेत जफत गर्ने निर्णय समेत गरेको थियो ।