बेलबारी, ४ असार । कानेपोखरीकी सरिता सोरेनको हत्या उनकै प्रेमीले गरेको रहस्य सार्वजनिक भएको छ ।
घटना घटेको करिब डेढ महिना पछि प्रहरीले सरिताको हत्यामा संलग्न रतुवामाई–६ का ३१ वर्षीय सुफल हस्दालाई पक्राउ गरेसँगै उक्त रहस्य बाहिर आएको हो ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले सरिताको हत्यामा हस्दाको संलग्नता पुष्टि भएको जानकारी दिएका छन् ।
घटनापछि अनुसन्धानका क्रममा दुबैबिच ६ महिनादेखि प्रेम सम्बन्ध रहेको, सरिताले विवाह गरेर घर लैजान हस्दासमक्ष कर गरेपछि घटना भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ ।
वैशाख १७ गते घरबाट विवाहमा सहभागी हुने भन्दै घरबाट निस्किएकी ३० वर्षी सरिता दुई दिनपछि वैशाख १९ मा रतुवामाई नगरपालिका–६ मा पर्ने मकैवारिमा मृत अवस्थामा फेला परेकी थिइन् ।
हत्यामा संलग्न सुफलका घरमा दुई श्रीमती र तीन सन्तान छन् भने हत्या गरिएकी सरिता पनि एक सन्तानकी आमा रहेको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका हस्दालाई मोरङ प्रहरीको टोलीले महेन्द्रनगरको कञ्चनपुरबाट बुधवार पक्राउ गरेको थियो । पक्राउ परेका हस्दाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मोरङ जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।