तत्काल उद्धार तथा राहत वितरणमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल बाढीपिडिको उद्धार र राहत वितरणको काममा लाग्न निर्देशन दिएका छन् ।

 बुधवार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैटौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।स्थानीय स्तरमा बन्ने साधन प्रयोग गरेर भए पनि उद्धार तथा राहत वितरणमा लाग्न निर्देशन दिएका छन् ।

 केही दिनदेखि परेको अविरल वर्षाका कारण गएको बाडी पहिरोले देशमा ठुलो क्षति पुर्‍याएको छ भने सयौँ परिवार विस्थापित भएका छन् । सोमबारदेखि परेको अविरल वर्षासँगको बाढी पहिरो आउँदा २६ वटा जलविद्युत् आयोजनामा क्षति भएको बताइएको छ ।

जलविद्युत आयोजनामा भएको क्षति हुँदा करिब तीन अर्ब क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत् आयोजना बगाउँदा पूर्ण रूपमा क्षति भएको छ । बाढी पहिरोका कारण एक दर्जनभन्दा बढी पुल र दुई दर्जनभन्दा बढी ठाउँको सडकमा क्षति पुगेको सडक विभागको अनुमान रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष २३ जिल्लाका १६ लाख ८७ हजार मानिस बाढी तथा डुबानबाट र २६ जिल्लाका १ लाख १७ हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्