बाढी–पहिरोबाट एक दर्जनभन्दा बढी पुल र दुई दर्जनभन्दा बढी सडक अवरुद्ध : अरबौँको क्षति


काठमाडौँ, ३ असार । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएको बाडी पहिरोले देशमा ठूलो क्षति पुर्याएको छ । यसरी आएको बाढीले देशका विभिन्न स्थानमा पुल तथा सडक भत्किदा आवतजावतमा समस्या परिहरेको छ भने बाढीले कति बस्ती नै डुबानमा परेका छन् ।

 सोमबारदेखि परेको अविरल वर्षासँगको बाढी पहिरो आउँदा २६ वटा जलविद्युत् आयोजनामा क्षति भएको बताइएको छ । जलविद्युत आयोजनामा भएको क्षति हुँदा करिब तीन अर्ब क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत् आयोजना बगाउँदा पूर्ण रूपमा क्षति भएको छ ।

त्यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार बाढीपहिरोबाट निर्माणाधीन १६ वटा र विद्युत् उत्पादन भइरहेका १० वटा आयोजनामा क्षति पुगेको बताएको छ । 

बाढी पहिरोका कारण एक दर्जनभन्दा बढी पुल र दुई दर्जनभन्दा बढी ठाउँको सडकमा क्षति पुगेको सडक विभागको अनुमान रहेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष २३ जिल्लाका १६ लाख ८७ हजार मानिस बाढी तथा डुबानबाट र २६ जिल्लाका १ लाख १७ हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान गरेको छ ।

दार्चुला, बैतडी, डडेलधुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलान्चोक, कास्की, खोटाङ, लमजुङलगायतका जिल्लामा पहिरोको जोखिम रहेको तथा कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिराहा, सप्तरी, पर्सा, मोरङ, चितवन लगायतका अधिकांश जिल्लामा बाढी तथा डुबानको जोखिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्