बाढी पहिरो प्रभावः बाढी पहिरोले मनाङका केही गाउँहरू सम्पर्क विहिन


मनाङ, २ असार । सोमबारदेखि परेको अविरल वर्षाका कारणले बाढी पहिरो जाँदा हिमाली जिल्ला मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै विच्छेद भएको छ । 

बाढीको सबैभन्दा बढी क्षति ताल गाउँमा परेको, पहिरो र कटानले उक्त ठाउँमा आउजाउ गर्न नसकिएको, आवतजावत गर्ने माध्यम नहुँदा उक्त स्थानमा जनशक्ति पठाउन पनि नसकिएको प्रहरीले बताएको छ ।

मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार सदरमुकाम चामेमा पाँच वटा पक्की र केही कच्ची घर बाढीले बगाएको छ । सबैभन्दा बढी नासो गाउँपालिका–१ मा रहेको तालमा घरहरू डुबानमा परेका छन् ।

सञ्चार र सडक सम्पर्क विच्छेद हुँदा ताल गाउँसम्म पुग्ने बाटो नहुँदा थप क्षतिको बारेमा यकिन भैनसकेको पनि प्रहरी प्रमुख डिएसपी खड्काले बताए । तर अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्