विराटनगर, १ असार । मोरङ मिक्लाजुङका एक जना युवाले जिब्रो सफा गर्ने क्रममा निलेको दाँत माझ्ने ब्रस अप्रेसन गरेर निकालिएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय गंगा मगरले जिब्रोको भित्री भाग सफा गर्ने क्रममा मुखबाट चिप्लिएर पेटमा पुगेको १५ सेन्टिमिटर लामो ब्रस नोबेल शिक्षण अस्पताल विराटनगरका चिकित्सकहरूले शल्यक्रिया गरेर निकाल्न सफल भएका हुन् ।
ब्रस पेटभित्र छिरेपछि अत्तिएर मगर नोबेल अस्पताल विराटनगर पुगेका थिए । अस्पतालले सुरुमा इन्डोस्कोपी गरेर ब्रस तान्ने प्रयास गरेको थियो । उक्त प्रयास असफल भएपछि उनको शल्यक्रिया गर्नु परेको थियो । शल्यक्रिया गरेर सफल रूपमा ब्रस निकालिएको अस्पताल श्रोतले जनाएको छ । अहिले बिरामीको अवस्था सामान्य रहेको र उनको डिस्चार्जको तयारी भइरहेको अस्पतालले जनाएको छ ।