बेलबारी, १ असार । मोरङको बेलबारी नगरपालिकामा बोयर बाख्रा प्रकरणको विवाद चुलिँएसँगै ग्रो अर्गानिक कृषि प्रालि सखुवासभासँगको सम्झौता खारेज हुने भएको छ ।
जेठ ३१ गते बसेको ६९ औ बेलबारी नगर कार्यपालिकाको बैठकले नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि बिच बोयर बाख्रा खरिद सम्बन्धमा २०७८ जेठ ३ गते गरेको सम्झौता खारिज गर्ने निर्णय गरेको हो ।
ग्रो अर्गानिक कृषि .प्रालिले ठेक्का बापत जम्मा गरेको जमानत रकम जफत गरी प्रालिलाई कालो सूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय समेत गरेको नगरपालिकाका प्रबत्ता योगेन्द्र सुबेदीले जानकारी दिएका छन् ।
सुबेदीका अनुसार नगर कार्यपालिका सदस्य बिन्दुकला गुरुङको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिको सदस्यहरूमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको रूपमा रहेका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी रहेका छन् । ग्रो अर्गानिक कृषि प्रा.लि सखुवासभालाई ठेक्का बापत हाल सम्म कुनै प्रकारका रकम भुक्तानी नगरेको नगरपालिकाले जनाएको छ ।
यस आर्थिक वर्षको नीति कार्यक्रम अनुसार विद्युतीय खरिद प्रक्रियाबाट बोयर बोका/बाख्रा खरिद ठेक्का बोलकबोल प्रक्रिया पुरा गरेर ग्रो अर्गानिक कृषि प्रा.लि.सङ्खुवासभाले १ करोड २४ लाख रुपैयाँमा ५० ओटा बोका र ३३ ओटा पाठी खरिदको लागि २०७८ जेठ ३ गते नगरपालिकासँग सम्झौता गरेको थियो ।
२०७७/०७८ को नीति कार्यक्रम अनुसार विद्युतीय खरिद प्रक्रियाबाट बोयर बोका/बाख्रा खरिद ठेक्का बोलकबोल प्रक्रिया पुरा गरेर ग्रो अर्गानिक कृषि प्रा.लि.सङ्खुवासभाले १ करोड २४ लाख रुपैयाँमा ५० ओटा बोका र ३३ ओटा पाठी खरिदको लागि २०७८ जेठ ३ गते नगरपालिकासँग सम्झौता गरेको थियो ।
तर अष्ट्रेलियाबाट फुल ब्लड बोयर ल्याएको भनी किसानलाई वितरण गरिएको बाख्रा सम्झौता अनुसार नभएकोले स्थानीयहरू असन्तुष्ट भएका छन् भने ग्रो अर्गानिक कृषि प्रा.लि.लाई कारबाही गर्न माग राख्दै विरोध पनि भइरहेको छ ।
स्थानीय युवाहरूले आइतबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा सोही विषयमा उजुरीसमेत दिइसकेका छन् । बेलबारी नगरपालिका कार्यालय अगाडी सोमबार साङ्केतिक रूपमा विरोध गर्दै युवाहरूले प्ले कार्ड झुन्डाइएका बोकासहित प्रदर्शन गरेका हुन ।
‘हामी विदेशी बोका होइनौँ नेपाली बोका हौँ, हाम्रो घर नवलपरासी हो, हामीलाई विदेशी भन्न पाइन्न, हामी जहाज चढेर आएका होइनौँ, विदेशी भनेर हाम्रो बेइज्जत नहोस् जस्ता नारा लेखिएका प्ले कार्ड झुन्डाइएको थियो भने मास्क लगाइदिएर बोकासहित प्रदर्शन गरिएको थिए ।