बेलबारी, ३१ जेठ । बेलबारी नगरपालिकाको गेटमा युवाहरूको समूहले बाख्रासहित प्रदर्शन गरेको छ । किसानहरूलाई बाँडिएका बाख्रा फुल ब्लड बोयर जातको नभएका, नगरपालिकाले बोयर भनेर कमसल जातका बाख्रा वितरण गरेको विषयलाई साङ्केतिक रूपमा विरोध गर्दै युवाहरूले प्ले कार्ड झुन्डाइएका बोकासहित प्रदर्शन गरेका हुन ।
‘हामी विदेशी बोका होइनौँ नेपाली बोका हौँ, हाम्रो घर नवलपरासी हो, हामीलाई विदेशी भन्न पाइन्न, हामी जहाज चढेर आएका होइनौँ, विदेशी भनेर हाम्रो बेइज्जत नहोस् जस्ता नारा लेखिएका प्ले कार्ड झुन्डाइएका बोकासहित प्रदर्शन गरिएको थियो ।
बेलबारीका सुजित बस्नेत, खेम गौतम, रिक्त गुरुङ, कमल सुब्बा, विशाल थापा, ऐश्वर्यप्रसाद आचार्य (विपिन) लगायतका युवाहरूको नेतृत्वमा दर्जनभन्दा बढी युवाहरू नगरपालिकाको गेट अघि प्रदर्शन गरेका छन् ।
समूहमध्येका सुजित बस्नेत आफूहरूले सचेत नागरिकको हैसियतले यो विषयलाई उठाइरहेको बताउँछन् । सत्य तथ्य बाहिर आउनु पर्ने, दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु नहुने उनको जोड रहेको छ ।
यही समूहले आइतबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा सोही विषयमा उजुरीसमेत दिइसकेका छन् ।