जसपाका ठाकुर पक्षबाट मन्त्री बनेकालाई उपेन्द्र पक्षले माग्यो स्पष्टीकरण


काठमाडौँ, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा)का ठाकुर पक्षबाट मन्त्री बनेकालाई उपेन्द्र यादव पक्षले स्पष्टीकरण मागेको छ ।जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षका ११ जना ओली सकारमा सहभागी भएका छन् भने यादव पक्ष विपक्षी गठबन्धनमा सहभागी रहँदै आएको छ । 

जसपाको केन्द्रीय कार्यकारिणी समितिले जेठ ८ गतेको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल नहुने निर्णय गरेको थियो । यदि यो निर्णयको विरुद्धमा गएर सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने उल्लेख छ ।

जसपाले जेठ ८ गते उक्त निर्णयलाई स्मरण गराएको छ ।  जसपाका दुई पक्षबिचको सरकारलाई समर्थन गर्ने र नगर्ने विषयमा टकराब हुँदा पार्टी विघटनको सङ्घारमा पुगेको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्ष सरकारको विरुद्धको गठबन्धनमा सामेल छ भने अर्का अध्यक्ष ठाकुर पक्ष सरकारमा सामेल छ ।

निर्वाचन आयोगले एक अर्काले गरेको कारबाही कानुनसम्मत नभएको भन्दै दुवै पक्षको निवेदन खारेज गरिदिए पनि एकले अर्कोलाई स्पष्टीकरण सोध्ने काम भने रोकिएको छैन । 

प्रतिक्रिया दिनुहोस्